| शनिबार, जेष्ठ ५, २०८१

स्वाँरा सघनद्वारा आरुघाट र भीमसेनमा परियोजना संचालन

स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाको जिल्लाको आरुघाट र भीमसेन थापा गाउँपालिकामा कोभिड १९ आपतकालीन, प्रतिकार्य तथा पुनस्र्थापना परियोजना संचालन गरेको छ ।


२०४४ सालदेखि गोरखामा काम गर्दै आएको यस संस्थाले सिआरएस नेपालसँग सहकार्यमा खाद्य सुरक्षा तथा जीविकोपार्जन, अवास र विपद् जोखिम न्यूनिकरणको काम गर्दै आएको स्वाँरा सघन गाउँविकास केन्द्रका कार्यकारी निर्देशक सीताराम श्रेष्ठले बताए ।


अक्टोबर २१ देखि सुरु भएको परियोजना डेढवर्ष संचालन हुनेछ । यसका लागि एक करोड ९० लाख रुपैयाँ बजेट बिनियोजन भएको केन्द्रले जनाएको छ ।
हालसम्म भीमसेन थापामा २७ र आरुघाटमा ७ वटा बोयर बोका बितरण गरिएको, आरुघाट गाउँपालिकामा अलैँची सुकाउने छ वटा भट्टा निर्माण गरिएको, अलैँची खेती बिस्तार तालिम, बाख्रापालन तालिम संचालन गरिसकिएको कार्यक्रम संयोजक तिमल्सिनाले बताए । बाँकी कार्यक्रम पनि निरन्तर संचालन हुने उनले जानकारी दिए । बिपद् जोखिम न्यूनिकरण सम्बन्धी सरोकारवालाहरुलाई अभीमुखिकरण, बजेट तर्जुमामा प्राविधिक सहयोग लगायतका काम पनि परियोजना अन्तरगत संचालन हुनेछ ।


परियोजनाको बुधवार जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बसेको छ । जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरको अध्यक्षतामा भएको बैठकमा स्वाँरा सघनका कार्यक्रम संयोजक द्रोणाचार्य तिमिल्सिनाले हालसम्मको उपलब्धी, परियोजनाको उद्देश्य, सम्पन्न भएका र हुन बाँकी क्रियाकलापका बारेमा जानकारी गराएका थिए ।


जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरले आवश्यकता पहिचान गरेर सहयोग गर्दा समुदायले धेरै लाभ लिन सक्ने हुँदा त्यसतर्फ संघ संस्थाले ध्यान दिनुपर्ने बताए ।


बैठकमा आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले स्वाँरा सघनसँगको सहकार्यमा अहिले संचालन भइरहेका कार्यक्रमलाई गाउँपालिकाले पनि निरन्तरता दिने बताए ।


प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले गैरसरकारी संस्थाको सहयोगमा बिपद्को क्षेत्रमा धेरै काम गर्न सकिने र स्वाँरा सघनले मान्बुको पहिरो पिडितकालागि काम गर्ने योजना बनाएकाले त्यो उपलब्धी मुलक हुने अपेक्षा गरे । पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले परियोजना सकिएपछि पनि उपलब्धी देखिने गरी सर्वेक्षण र अध्ययन गर्नुपर्ने बताए । सिआरएस नेपालका असल कट्टेलले साँझेदार संस्थाको बारेमा जानकारी गराएका थिए ।


कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्