| शनिबार, बैशाख ८, २०८१

ठूलोआँगन अपडेट : ऐतिहासिक ठूलोआँगन खन्न अबरोध (फोटो फिचर)


पुरातत्व विभागले निर्माण गरेको ऐतिहासिक ठूलोआँगन खनिएको भन्दै स्थानीयबासीले काममा अवरोध गरेका छन् ।

पृथ्वीनारायण शाहको सालिक राख्न भन्दै गोरखा नगरपालिकाले ठाउँ तयार गरिरहेको ठाउँमा भेला भएका स्थानीयबासीले खाल्डो पुरेका हुन् ।


गोरखा नगरपालिका वडा नं. ५ सतिपिपल, गैरीकुवा, गोरखा दरबार क्षेत्र र वडा नं. ३ नारेश्वर क्षेत्रका बासिन्दा मंगलबार भेला भई खाल्डो पुरेका हुन् । ऐतिहासिक ठूलोआँगन खनेर त्यहाँ नयाँ संरचना बनाउँदा त्यहाँ हुँदै आवतजावत गर्न असहज हुने भन्दै ५० जना भन्दा धेरै समूहमा भेला भएकाहरुले खाल्डो पुरेका हुन् ।


पुरातत्व विभागले करिब ४० बर्षभन्दा अघि बिछ्याएको ढुंगा हटाएर गोरखा नगरपालिकाले करिब २२ लाख रुपैयाँको लागतमा पृथ्वीनारायण शाहको सालिक स्थापना गर्न लागेको थियो । सुरुदेखि नै विवादित बन्दै आएको सो कार्यक्रममा स्थानीयबासीले अबरोध गरेका हुन् ।


नगरपालिकाले सालिक निर्माण गरेपछि यहाँ नेपाली सेनाले नियमित रुपमा साँझ र बिहान परेड खेल्ने र सलामी दिने कार्यक्रम तय भएको थियो ।


नगरपालिका र नेपाली सेनाले संयुक्त रुपमा यहाँ कार्यक्रम सञ्चालन गर्न लागेको हो । सो कार्यक्रमले पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ ।


तर कतिपय स्थानीयबासीले भने पुरातात्विक सम्पदामा आँच आउने गरी नयाँ संरचना बनाउन लागेको भनेर विरोध गरिरहेका छन् । विरोधपछि केही समय निर्माण कार्य रोकिएको थियो ।


यसअघि २०४२ सालदेखि पुरातत्व विभागले गोरखाको बसपार्कभन्दा माथि, तल्लोदरबार, ठूलोआँगनदेखि गोरखकाली मन्दिर, गोरखा दरबार क्षेत्रसम्म समेटेर पुरातात्विक क्षेत्र घोषणा गरी परियोजना लागु गरेको थियो । त्यसैअन्तर्गत तल्लो दरबारलाई गोरखा संग्रहालय, आसपासका क्षेत्रलाई गोरखा पार्क, पृथ्वीनारायण शाहको सालिक निर्माण गरेको छ । साथै सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सिफारिस पनि गरेको छ ।


केही स्थानीयबासीले विश्व सम्पदा सूचीमा समेटिएपछि साधारण जनजीवनमा कठिनाइ हुने, पुरातात्विक नीति नियम पालना गर्न सहज नहुने भन्दै निरन्तर विरोध गरेपछि २०७३ सालपछि गोरखा संग्रहालयको घेरा र गोरखा दरबार क्षेत्रलाई मात्र पुरातात्विक क्षेत्र कायम गरी बाँकी क्षेत्रलाई खुल्ला गरिएको थियो ।


पुरातात्विक क्षेत्रबाट मुक्त भएपछि यसअघि बिछ्याइएको ढुंगा फुटाएर ठूलोआँगनको बीच भागमा सालिक बनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्