| बिहिबार, चैत्र १५, २०८०

हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू. एक लाख छ हजार नौ सय तोकिएको छ । 

यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन प्रतितोला रू. एक लाख छ हजार दुई सय कायम भएकोमा आज प्रतितोला रू. सात सयले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू. एक लाख छ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन रू. एक लाख पाँच हजार सात सय थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा रू. १५ ले बढेर प्रतितोला रू. एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको प्रभाव परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको भनाइ छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्