| मङ्लबार, बैशाख ४, २०८१

हिउँले गुप्सीपाखा ढपक्कै, पर्यटक रमाएर बिछट्ट


गैरआवासीय नेपाली संघ(एनआरएनए)ले निर्माण गरेको धार्चे गाउँपालिका ४ गुप्सीपाखाको एकीकृत नमूनाबस्ती यतिबेला हिउँले ढपक्कै ढाकिएको छ । एउटै थुम्कामा एकै किसिमका ६१५ वटा घरहरु हिउँले ढाकिएपछि मनमोहक देखिएको छ ।


समुद्री सतहदेखि २७५० मिटर उचाइमा अवस्थित गुप्सीपाखामा दिउँसो साँढे दुईबजेदेखिको हिमपातले बस्ती सेताम्मे भएको हो । यसबर्षको पहिलो पटक हिउँ परेपछि सो बस्तीका बासिन्दा खुशी छन् । ‘पोहोरसाल पनि हिउँ परेन । ढिलै भएपनि यसपटकचाहिँ प¥यो भनेर स्थानीयबासी खुशी भएका छन्’, स्थानीय तुले गुरुङले भने, ‘अझै ठूलो हिउँ परे बारीमा भर्खर उम्रिएको गहुँ, जौ सपिन्थ्यो भन्ने चाहना थियो, तर चाहेजति हिउँ अझै परेको छैन ।’ उनका अनुसार अहिले गुप्सीबस्तीमा करिब दुई इन्चजति हिउँ जमेको छ ।


गुप्सीमा हिउँ परेपछि त्यस भेगका बारीहरुमा पानी बर्सने गथ्र्यो, तर अहिले हिउँ परे पनि पानी भने अझै परेको छैन । ‘गहुँ, जौ सुकिसकेका थिए’, वडा अध्यक्ष किसान गुरुङले भने, ‘अल्लि ठूलो हिउँ परेको भए एकदम राम्रो हुने थियो । अझै पर्छ कि ?’
एकीकृत नमूना बस्तीमा हिउँ परे पछि दृश्यावलोकन गर्न विभिन्न ठाउँबाट मान्छेहरु आएका उनले बताए । ‘पहिल्यै आएका विदेशी पर्यटकहरु हिउँ परेपछि बिछट्टै रमाएका छन् । वरिपरिका गाउँहरुबाट पनि हिमपात हेर्न आइपुगेका छन्’, वडाअध्यक्ष गुरुङले भने, ‘यहाँ लामो समयसम्म हिउँ रहने हुँदा पहिले–पहिले पनि धेरै ठाउँबाट आन्तरिक पर्यटकहरु आउने गर्थे, यसपटक पनि पक्कै आउलान् ।’


२०७२ सालको भूकम्पले धार्चे ४ लाप्राकका सबै घरहरु क्षतिग्रस्त भएपछि एनआरएनएले यहाँ एकीकृत नमूना बस्ती निर्माण गरेको थियो ।


बुधबार दिउसोदेखि उत्तरी गोरखाको साम्दो, सामागाउँ, ल्हो, स्याला, चुम्चेत, छेकम्पारका गाउँबस्तीहरुमा पनि हिउँ पर्न थालेको छ । ‘तीनहजार मिटर उचाइमा रहेको हाम्रो छुले गाउँमा साँझतिरबाट हिउँ पर्न सुरु गरेको छ’, स्थानीय भू छेदेनले भने, ‘लामो समय भएको थियो, हिउँ नपरेको, अब राम्ररी पर्छ कि भन्ने आशा छ ।’ हिमपात धेरै दृष्टिकोणले राम्रो हुने उनले बताए ।


तस्वीर सौजन्य : तुले गुरुङ, लाप्राक ।

प्रतिक्रिया दिनुहोस्