| बुधबार, बैशाख १९, २०८१

बस नआउने बसपार्क !

मेलिना बराम । चार बर्ष अघि निर्माण भएको गोरखा नगरपालिका–७ डण्डीडाँडाको बसपार्क अझै संचालनमा आएको छैन । दुई करोडभन्दा बढी रकम खर्चेर आवश्यक सबै संरचना बनेपनि पार्किङका लागी कुनै पनि बसहरु त्यहाँ आउदैनन् । जिल्ला सदरमुकामको पार्किङ व्यवस्थित गर्ने उद्देश्यले आर्थिक बर्ष २०७५/७६ देखि संघीय सरकारको बजेटमा सिनर्जी/क्रिष्टल/सचेत जेभीले बसपार्क निर्माण सुरु गरेको थियो ।

करिव १५ सय रोपनी जग्गामा बनाइएको बसपार्क छेउछाउ २ हजार ५७१ घनमिटर टेवा पर्खाल लगाइएको छ । व्यवस्थित नाला बनाइएको छ । जमिन सम्याएर ग्राभेल गरिएको छ । टिकट काउण्टरका लागि ६ कोठे भवन पनि बनेको छ । तर ती सबै संरचना प्रयोगविहीन छन् । सदरमुकामस्थित पुरानो बसपार्क साँघुरो बन्दै गएपछि सो क्षेत्रमा दुई करोड १५ लाख रुपैयाँ खर्चेर नयाँ बसपार्क बनाइएको संघिय आयोजना कार्यान्वयन इकाइ कास्कीका इन्जिनियर पुरुषोत्तम पंगेनीले बताए ।

बसपार्क संचालनमा आए आउजाउमा सहज हुने सो क्षेत्रका स्थानीयको भनाइ छ । व्यापार व्यवसाय समेत फष्टाउने स्थानीय बिष्णुमाया रम्तलले बताइन् । ‘हामी यहाँको मान्छे गोरखा बजार जानुप¥यो भने ट्याक्सीले तीन सय रुपैया लिग्छ,’ उनले भनिन्, ‘बस चल्यो भनी २०/३० रुपैयामा बजार पुगिन्थ्यो ।’ बजारमा अव्यवस्थित पार्किङ गर्ने तर पर्याप्त ठाउँ भएको बसपार्कमा बस नराख्दा समस्या भएको उनको भनाइ छ । निर्माण भएको चार बर्षमा पनि बसपार्क संचालनमा ल्याउन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।

‘बजारमा अटाई नअटाई गरेर बस राख्छ । यहाँ भने बनेको संरचना पनि अस्तव्यस्त छ । बस ल्याउनी भनेर नै बसपार्क बनाएको हो, तर बस आउनी कुराको अहिलेसम्म अत्तोपत्तो छैन,’ उनले भनिन् । गत बर्ष प्राविधिक टोलीले बाटो नापजाँच गरेका थिए । तर हाल भइरहेको बाटो समेत बिग्रन थालेको रम्तेल बताउछिन् । उनी भन्छिन्, ‘पोहोर पनि प्रविधिक टोली आएर बाटो नापजाँच गरे, अबको ५,६ महिनापछि चिल्लो कार हिड्छ आमा भन्थे । कार आउनु त परको कुरा, भाको बाटो पनि छेउ कुनामा तितेपाती उम्रेर झाँडी बनीसक्यो ।’

चुनावको बेला आश्वासन देखाएका जनप्रतिनिधीहरुले चुनाव जितेपछि वेवास्ता गर्ने गरेको भन्दै उनले आक्रोश व्यक्त गरिन् । बसपार्क संचालनमा आए सो क्षेत्रमा उत्पादीत कृषि उपजको बजार व्यवस्थापनमा सहज हुने स्थानीय सुनिता कोइरालाले बताइन् । ‘यहाँ धेरैले तरकारी खेती गर्छन्, गाईभैंसी पाल्छन्,’ उनले भनिन्, ‘बसपार्क सञ्चालनमा आयो भने उत्पादनले बजार पाउन सजिलो हुन्थ्यो, फेरि सानातिना होटल व्यवसाय पनि चल्थे ।’ यसले जीविकोपार्जनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

सदरमुकामबाट टाढा भएका कारण बसपार्क सञ्चालनमा आउन नसकेको गोरखा नगरपालिका–७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले बताए । ‘बसपाक दुरीको हिसाबले बजारभन्दा टाढा छ, अर्को त्यहाँसम्म बस जाने बाटो नै बनेको छैन,’ उनले भने । बसपार्कका लागी आवश्यक अन्य भौतिक पूर्वाधारका संरचना नभएका कारण पनि समस्या भएको उनको धारणा छ ।

बसपार्कबाट आउने बसहरु नयाँ बजार वा बिसौनी मोड निस्कने गरी लिङ्क सडक निर्माणको लागी पहल गरिरहेको उनले बताए । बसपार्क सञ्चालनमा ल्याउन सके सदरमुकाम क्षेत्रको अव्यवस्थित पार्किङको समस्या हल हुने उनको भनाइ छ । सदरमुकामको पार्किङलाई व्यवस्थित गराउन नगरपालिकाको पनि बिशेष नीति तथा योजना हुनुपर्ने उनले बताए ।

बाटोका कारण सो क्षेत्रमा पार्किङ गर्न सम्भव नभएको यातायात व्यवसायीले बताउँदै आएका छन् । ‘मुख्य कुरा त बाटोकै समस्या छ । फेरी बसपार्क मात्र बनेर भएन । स्टाफ बस्ने होटल चाहियो, गाडीको सुरक्षा हुनुप¥यो,’ एक यातायात व्यवसायीले भने । गोरखा नगरपालिकाले भने बसपार्क संचालनका लागी आवश्यक पहल भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्