| सोमवार, चैत्र ३, २०८१

आधुनिक प्रविधिमा स्तरोन्नति हुँदै मनकामना केवलकार


नेपालको पहिलो केवुलकार मनकामना केवुलकार आधुनिक प्रविधिमा स्तरोन्नति हुने भएको छ । झन्डै ५० करोड खर्चेर आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना केवलकार प्रालिले जनाएको छ ।

स्तरउन्नतिका लागि उपकरणसहित यसको निर्माता कम्पनी अष्ट्रियाबाट प्राविधिकहरु आइसकेका छन् । उनीहरुले आउँदो असार ३१ गतेबाट स्तरोन्नतिको काम गर्नेछन् ।

कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठकाअनुसार २६ वर्ष अगाडि जडित प्रविधिलाई प्रतिस्थापन गरेर अहिलेको विश्वमा प्रचलित प्रविधि जडान गरेर स्तरोन्नति गर्न लागिएको हो ।

उनले भने, ‘२६ वर्ष अगाडि जडान गरिएको यो प्रविधिमा समयानूकल धेरै विकास भइसकेको छ । त्यसैले निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष केवुलकारको स्तरोन्नति गर्न लागिएको हो । अष्ट्रियाको विश्व नंबर १ कम्पनी डोपलमायरबाट निर्माण गरिएको यो केबुलकार बिगत २५ बर्षदेखि कुनै समस्या उत्पन्न नभै संचालनमा भइरहेको छ ।’


एनालग प्रविधिमा सञ्चालन भइरहेको यस केवलकारको प्रविधि अव डिजिटल प्रविधिमा रुपान्तर हुने उनले बताए । पुरानो मोटर सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ । त्यस्तै हाल दुई स्टेशन बीच जडित समेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ र यसको लम्बाई करीव ३२०० मिटरको हुनेछ । त्यस्तै मेन केवल तार लठ्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक फेरिने छ र त्यसको लम्बाई करीव ६५०० मिटरको हुनेछ ।

केवुलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रिपहरु, जस्को माध्यमबाट तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकिएको छ । डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको भनाई छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित समय चाँडो पनि हुन सक्छ वा लम्बिन सक्ने समेत हुन सक्छ ।

डिजिटल प्रविधि अनुसार यसको संचालन छुट्टै सफ्टवेयरबाट कम्युटर प्रणालीबाट संचालनमा आउनुका साथै कतिपय प्राविधिक समस्या डोपलमायरबाट अष्ट्रियाबाट नै समाधान गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्