
किसानको नाममा आएको बजेट फ्रिज हुनु दुखद
पुगिसरी आएकाको हकमा केही भएन, तर ‘गरिबलाई दिन्छु नभन्नु’ भन्ने उक्ति गाउँसमाजमा विद्यमान छ । निम्न आए भएकालाई थोरैतिनो जति नै भए पनि अनुदानको ठूलो महत्व हुन्छ । जसरी जतिसुकै हुनेखाने परिबारका ज्येष्ठ नागरिक होउन्, सरकारले दिने वृद्धभत्ताको निकै नै महत्व हुन्छ ।
त्यो किन भने सरकारले आफ्नो नाममा पठाएको रकम हो भन्ने अर्थले गर्दा हो । त्यस्तै गरिब किसानको नाममा सरकारले पठाएको थोरैतिनो जति नै भए पनि अनुदान अर्थात सहयोग कार्यक्रम भनेको उनीहरुको नामको हो । त्यसैले आफ्नो नामको कार्यक्रम गुम्दा किसानहरुमा चिन्ता हुनु स्वभाविक छ ।
यो वर्ष कृषि ज्ञानकेन्द्र गोरखामा आलु प्रवद्र्धन कार्यक्रमका लागि प्राप्त १ करोड ४० लाख रुपैयाँ फ्रिज भएको छ । समयमा आलुको बिउ नपाएका कारण ‘समुदाय स्तरमा प्रशोधनयोग्य आलु प्रवद्र्धन कार्यक्रम’ शीर्षकमा आएको योजना र बजेट फ्रिज भएको हो ।
किसानहरुलाई बिउ दिने र उनीहरुको उत्पादन पनि खरिद गर्न ‘फास्ट फुड च्वाइस् कम्पनी’ले गण्डकी प्रदेश कृषि विकास निर्देशनालयसँग आलु उत्पादनका लागि विउ उपलब्ध गराउने सम्झौता गरेको थियो । कम्पनीले गण्डकी प्रदेशको गोरखा सहित ७ जिल्लाका किसानहरुलाई आलुको लोकप्रिय परिकार फ्रेन्च फ्राइज बनाउन प्रयोग हुने खुमल उपहार, खुमल अज्जवल, डिजिरे र जनकदेव जातका आलुको बिउ उपलब्ध गराउन प्रदेश सरकारसँग सम्झौता गरेको थियो ।
सम्झौताअनुसार आलु उत्पादनका लागि आवश्यक पर्ने बिउ सो कम्पनीले उपलब्ध गर्नुपर्ने थियो । त्यसका लागि जिल्लामा १ करोड ४० लाख रुपैयाँ बजेट पनि आइसकेको थियो तर कम्पनीले आलुको बिउ पठाएन, त्यसैले योजना र बजेट दुवै फ्रिज भएर गयो ।
यसबर्ष भने यहाँका किसानले सो आलुको बिउ आफैँले उत्पादन गर्न सुरु गरेका छन् ।आगामि बर्षहरुमा यसरी किसानका लागि प्राप्त बजेट गुम्ने अबस्था नआओस् । त्यसका लागि कार्यालयले अतिरिक्त तागत प्रयोग गरी कार्यक्रम गर्नु पर्दछ ।