भीमसेनथापामा २७ लाख १२ हजारको कृषि उपकरण वितरण
भीमसेनथापा गाउँपालिकाले २७ लाख १२ हजार बराबरको कृषि उपकरण वितरण गरेको छ । मंगलबार पालिकाले ८ वटै वडाहरुलाई लक्षित गरेर कृषि उपकरणहरु वितरण गरेको हो । बाली लगाउने मेसिन, स्प्रे पम्प, पराल–घाँस काट्ने मेसिन, पम्प, हाते ट्याक्टर, घाँस काट्ने मेसिन र मकै छोडाउने मेसिन लगायतका उपकरणहरु पालिका आफैले खरिद गरेर वितरण गरिएको अध्यक्ष लोकप्रसाद बन्जराले बताए ।
‘आठ वटै वडाहरुलाई लक्षित गरेर उपकरण खरिद गरेका हौँ’, उनले भने, ‘प्रत्येक वडामा सहकारीलाई उपकरणको जिम्मा लगाइएको छ ।’ उपकरणहरु कृषि सहकारीहरुले परिचालन गर्ने उनले बताए ।
वडा नम्वर १ को माझथोक साना किसान कृषि सहकारी, वडा नं २ को महेनली कृषि सहकारी, वडा नम्वर ३ को सृजनशिल कृषि सहकारी, वडा नं ४ को प्रगतिशिल कृषि सहकारी, वडा नं ५ को नमुना कृषि सहकारी, वडा नम्वर ६ को अश्राङ कृषि सहकारी, वडा नं ७ को उद्यमशील साना किसान सहकारी र वडा नम्वर ८ को सृजनशिल बचत तथा ऋण सहकारीसँग सम्झौता भएको उनले जानकारी दिए ।
‘सहकारीले सुपथ मुल्यमा किसानहरुलाई उपकरण भाडामा दिने गरी सम्झौता गरेका छौ,’ अध्यक्ष बन्जराले भने । पालिकाको ‘एक वडा एक कस्टम हायरिङ सेन्टर’ कार्यक्रम अन्तरगत उपकरण वितरण गरिएको बताइएको छ ।