| आइतवार, माघ २७, २०८१

बेनिघाट लार्के सडकका लागि थप ६० करोड रकम !

उत्तरी गोरखा हुदैं चीन जोड्ने बेनिघाट आरुघाट लार्के सडकका लागि यो बर्ष थप ६० करोड रकम स्रोत सुनिश्चित भएको छ । आर्खेतदेखि हावाडाँडासम्मको १० किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नतीका लागि अर्थ मन्त्रालयले बहुबर्षीय ठेक्काको स्रोत सहमति दिएको हो ।

‘बजेट विनियोजन भइसकेको होइन,’ गोरखा सडक योजनाका प्रमुख अमिन्द्र खड्काले भने, ‘अर्थले काम गर पैसाको व्यवस्था गर्छाै भनेको हो ।’ यही बर्ष ठेक्का प्रक्रियामा गएर काम सुरु हुने उनले बताए । बैशाख महिनामा सम्झौता गरेर काम सुरु गरिने उनले जानकारी दिए ।

उक्त सडकखण्डका लागि यो बर्ष नेपाल सरकारले सात करोड रकम विनियोजन गरेको थियो । दुई किलोमिटर ट्रयाक खन्नका लागि उक्त रकम रकम विनियोजन भएको हो । कम बजेट विनियोजन भएको भन्दै थप गरिदिन चुमनुव्री गाउँपालिकाले माग गर्दै आएको थियो । थप बजेटका लागि गोरखा क्षेत्र नम्वर १ का संघिय सांसद राजेन्द्र बजगाईले पनि पहल गर्दै आएका थिए ।

आइतवार अर्थ मन्त्रालयले थप ६० करोड रकमको स्रोत सुनिश्चित गरेको हो । स्रोत सुनिश्चित भएसँगै यही बर्षबाट आर्खेतदेखि हावाडाँडासम्मको सडक कालोपत्रेको काम सुरु हुने भएको छ । बेनिघाटदेखि लार्केसम्मको कुल १५४ किलोमिटर सडकमध्ये ९७ किलोमिटर खण्डमा चारपांग्रे गाडी गुड्न थालिसक्यो । हावाडाँडादेखि नेपाली सेनाले खन्न सुरु गरेको सडक ट्रयाक पाङसिङ पुगिसक्यो ।

अहिले पाङसिङसम्म सवारी चल्छ । पाङसिङदेखि माथि ट्रयाक खोल्ने काम भइरहेको छ । सडकलाई चार खण्डमा विभाजन गरी काम भइरहेको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ । कार्यदलका अनुसार पाङसिङ भिर, न्याक फेदी, रुविनाला र पेवा भिरमा ब्लाष्टिङको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्