| आइतवार, माघ २७, २०८१

बारपाक सुलिकोटको १६ औँ अधिबेशन : पुँजीगत खर्च १०.६ प्रतिशत मात्रै, जलविद्युत उत्पादन गर्न पालिकाबाट अनुमति लिनुपर्ने

बारपाक सुलिकोट गाउँपालिकाको चालु आर्थिक बर्षको हालसम्मको पुँजीगत (बिकास निर्माण) तर्फको खर्च १०.६ प्रतिशत रहेको छ । पालिकाको शनिबार सम्पन्न हिउँदे गाउँसभा एवं १६ औँ अधिवेशनले उक्त विवरण सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष सुरु भएको झन्डै ७ महिना बितिसक्दा पनि पालिकाले बिकास निर्माण तथा कार्यक्रमतर्फ बिनियोजित बजेटको जम्मा १०.६ प्रतिशत रकम मात्र खर्च गरेको हो । यस्तै, पालिकाले चालु (प्रशासनिक) खर्चतर्फ हालसम्म बिनियोजित बजेटको ३७.०७ प्रतिशत रकम खर्च गरेको पाइएको छ ।

चालु आर्थिक वर्ष यता पालिकाले राजश्व बापत ३ लाख १६ हजार रकम संकलन गरेको पालिकाको विवरणमा उल्लेख छ । यस्तै, हालसम्म सानाठुला गरी २६ वटा योजनाहरु सम्झौँता भएका पालिकाले जनाएको छ । भौतिक योजनातर्फ पालिकाको समग्र वडाका वडागत योजनाहरुको प्रगति ३५ प्रतिशत रहेको बताइएको छ ।

पालिकाले सवारी साधन मर्मततर्फ हालसम्म ३२ लाख ७४ हजार रुपैँया खर्च गरेको उल्लेख छ । यसैगरी, व्यक्तिगत घटनातर्फ हालसम्म ६५४ वटा घटनाहरु दर्ता गरिएको र सामाजिक सुरक्षा भत्तातर्फ हालसम्म चार करोड २४ लाख ४३ हजार रुपैँया वितरण गरिएको पालिकाको भनाई छ ।

पाँचवटा महत्वपूर्ण निर्णय गर्दै पालिकाले आफ्नो १६ औँ अधिवेशन सम्पन्न गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए । जलविद्युत उत्पादन गर्नका लागि पालिकाबाटै अनुमति पत्र लिनुपर्ने निर्णय अधिवेशनले गरेको उनले जानकारी दिए ।

‘एक मेगावटसम्मको आयोजना निर्माण गर्नका लागि पालिकाबाटै सर्वेक्षण अनुमति पत्र लिनुपर्ने निर्णय भएको छ’, उनले भने, ‘निर्णय अनुसार २५० किलोवाटसम्म दुई लाख, पाँचसय किलोवाटसम्म तीन लाख, ७५० किलोवाटका लागि चार लाख र एक मेगावटको योजनाका लागि पाँच लाख रुपैँया राजश्व लिने निर्णय भएको छ ।’ आउँदो जेठ मसान्तभित्रमा दोस्रो आवधिक योजना निर्माण गर्ने योजना भएको उनले बताएका छन् ।

यस्तै, १० लाख माथिका सडक पूर्वाधार निर्माण आयोजनाहरुमा अनिवार्य रुपमा वायोइन्जिनियरिङ गर्नुपर्ने, आगामि वर्षदेखि घर बनाउँदा अनिवार्य नक्सा गर्नुपर्ने र संघीय तथा प्रादेशिक कार्यालयबाट संचालित आयोजनाले प्राकृतिक स्रोत साधन उपयोग बापत अनिवार्य रुपमा कर दाखिला गर्नुपर्ने निर्णय भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्