
मध्यपहाडी लोकमार्गमा ठेकेदारको चरम लापरवाही, दश बर्षमा पनि सकिएन काम
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा ठेकेदारको चरम लापरवाही देखिएको छ । काम सुरु भएको दश बर्ष पुग्न लाग्दा समेत योजना सम्पन्न भएको छैन । मध्यपहाडी लोकमार्ग अन्तरगत जिल्लामा ओख्ले–घ्याम्पेसाल–निवेल र मसानेठाँटी–पालुङटार गरी दुईवटा खण्डमा बिभाजन गरेर काम अघि बढेको हो ।
२०७२ माघमा ठेक्का सम्झौता भएर काम अघि बढेको ओख्ले–घ्याम्पेसाल–निवेल खण्डको हालसम्म ८८ प्रतिशत मात्र भौतिक प्रगति छ । सडक कालोपत्रेको काम समेत अघि बढेको छैन । सम्झौता अनुसार २०७५ भित्र काम सम्पन्न गर्नुपर्ने हो ।
एमपिएफटिएफ इसिसि जेभिसँग भ्याट सहित ३५ करोडमा ठेक्का सम्झौता भएको उक्त योजनाको विगत ६ वर्षदेखि पटक पटक म्याद थप भएको मध्यपहाडी लोकमार्ग योजना कार्यालय पालुङटारका इन्जिनियर गोबिन्द श्रेष्ठले बताए । ‘पछिल्लो म्याद थपको अवधि पनि यही पुष मसान्तमा सकिसक्यो तर काम भने सम्पन्न भएको छैन’, उनले भने, ‘हामीले ठेकेदारलाई छिटो भन्दा छिटो काम सम्पन्न गर्न निर्देशन दिएका छौँ ।’ यो खण्डमा मध्यपहाडीको १६ किलोमिटर सडक पर्दछ ।
यता मसानेठाँटीदेखि पालुङटारसम्मको १५.८ किलोमिटर सडक कालोपत्रेको सम्झौता २०७७ असारमा भएको हो । दुईवर्षभित्र सम्पन्न गर्नुपर्ने योजनाको हालसम्मको भौतिक प्रगति ५० प्रतिशत मात्र छ । हिमजुङ्ग प्यासेफिक जेभिसँग ५५ करोडमा ठेक्का सम्झौता भएको योजनाको पछिल्लो पटकको थप भएको म्याद यही चैत मसान्तभित्र सकिदै छ । तर कामले भने गति नलिएको कार्यालयले जनाएको छ ।
‘पटक पटक म्याद थप गर्दै काम अघि बढाउँदै गरेको छ’, श्रेष्ठले भने, ‘यो खण्डमा घना जंगल र रुखहरु धेरै पर्ने भएकाले कामको गति ढिलो भएको थियो, अहिले भने तिव्र गतिमा काम भईरहेको छ ।’ दुवै कम्पनीलाई पटक पटक पत्रचार गरेर छिटो योजना सम्पन्न गर्न निर्देशन समेत दिइएको उनले जानकारी गराए ।
कार्यालयले यो दुबै ठेक्कालाई ‘क्रोनिक ठेक्का’ को सूचीमा राखेको छ । लामो समयसम्म काम नहुँदा यी खण्डमा काम सम्पन्न भएका छैनन् । ठेकेदारको लापरवाही कारण समस्या भएको कार्यालयले जनाएको छ ।