| बुधबार, अशोज २३, २०८१

पानी आउने वित्तिकै ढल खोल्ने ?

बजार भन्ने वित्तिकै विकसित ठाउँ हो । बजारका मान्छेहरुमा चेतनाको स्तर पनि माथि नै भएको ठानिन्छ । तर, गोरखा बजारमा आकाश कालो भएर जब पानी बर्सन्छ, प्राय मान्छेहरु हत्तपत्त आफ्नो घरको सेफ्टी ट्याङ्की खोल्न तम्सन्छन् । केही दिन यता दिनहुँजसो पानी परेको छ । हरेक दिन जसो नै गोरखा बजारको बसपार्क देखि प्रतिक्षालय सम्म पानी परेको बेलामा नाक नै पोल्ने गरी शौचालयको दुर्घन्ध फैलिएको छ ।

बजारमा गगनचुम्बी घर बनाउनेहरुले त्यत्ति शौचालयको फोहोर फाल्ने खर्च गर्न नसकेकै हुन् त ? नगरपालिकाले सेफ्टी ट्याङ्कीको फोहोर फाल्न ट्याङ्करको ब्यवस्था गरेकै छ । केही रकम खर्चेर शौचालयको फोहोर ब्यवस्थापन गर्न नसक्ने बजारीयाहरुसँग नगरपालिकाले एक्सन लिनुपर्छ । बजारमा दुर्घन्ध फैलाउनेलाई कारबाहीको दायरामा ल्याउन गोरखा नगरपालिकाले कडा कदम चाल्नु पर्छ । नगरपालिकाले यस विषयमा गोरखा उद्योग वाणिज्य संघसँग तत्कालै छलफल गरेर जथाभावी फोहोर फाल्नेलाई केकस्तो कारबाही, जरिवाना तोक्ने हो तोकेरै अघि बढ्दा राम्रो हुन्छ ।

हुन त बजारमा बस्ने मानिसलाई जथाभावी फोहोर फालेर कारबाहीमा ल्याउनुपर्छ भन्ने कुरा नै हाँस्यास्पद हो । किन की जस्ले फोहोर फाल्छ उनीहरुले नै फोहोर फाल्नु हुँदैन, पानी पर्ने वित्तिकै ढल, नाली खोल्नु हुँदैन भन्ने कुरा बुझेका हुन्छन् । यति हुँदा हुँदै पनि बुझेर बुझ पचाउने, वातावरण र अन्य ब्यक्तिको स्वास्थ्यको ख्याल नगर्नेहरुलाई गोरखा नगरले प्रशासनको सहयोग लिएरै भएपनि नियन्त्रणको प्रयास गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्