किर्ते गर्नेहरु उम्किनु भएन
पालुङटार १ खोप्लाङको वडा कार्यालयमा कार्यालय सहायक पदमा नियुक्तिका लागि दरखास्त दिँदा एक महिलाले आफ्नै बहिनीको प्रमाणपत्र, लब्धांकपत्र पेश गरिन् ।वडा कार्यालयले उनकै नाम निकाल्यो । यो कुरा बाहिर आएपछि जिल्ला प्रहरी कार्यालय र प्रशासनले अनुसन्धानको पाटोलाई केही अघि बढाए जस्तो त ग¥यो तर त्यसको गहिराई सम्म पुगेको पाइँदैन । अथवा प्रशासनले कारबाही गर्न चाहेन ।
किर्ते धेरैवटा कागजमा भएको छ । धेरै ठाउँमा पनि भएको छ । पहिलो, बहिनी हिरा बानियाँको नामको चारित्रिक प्रमाणपत्रमा विन्दबासिनी माविले दिदी कविता खड्काको फोटो टाँसेको छ । २०६७ सालमा पास गरेको जिल्ला स्तरीय परीक्षाको लब्धांकपत्रमा मिति २०७४ साल लेखिएको छ । दोस्रो, कविता खड्का र हिरा बानियाँ एउटै व्यक्ति हुन् भनी वडा कार्यालयले प्रमाणितका लागि सिफारिस गरेको छ ।
जब कि नाम र थर दुवै फरक छ । जन्म मिति पनि हिरा बानियाँको २०४९ साल छ कविता खड्काको जन्ममिति २०४५ साल छ । नाम थर, जन्म मिति सबै फरक भएका दुई फरक ब्यक्तिहरु एउटै हुन्छन् ? मार्कसिट बनाइदिने नारेश्वरको विद्यालय, एउटै व्यक्ति हुन् भनेर प्रमाणितका लागि सिफारिस बनाइदिने वडा कार्यालयले त गल्ती गरे, जिल्ला प्रशासन कार्यालयले पनि यति धेरै भिन्नता भएका कागजातको अध्ययन नै नगरी प्रमाणित गरिदिएको छ । यी फर्जी कामको बारेमा राम्ररी छानबीन हुनुपर्छ । अहिले प्रहरी प्रशासनको मुख ताक्ने, प्रशासन प्रहरीको मुख ताक्ने गर्दा यति लापरबाही गर्नेहरुमाथी कारबाही हुन सकेको छैन । यस्तो गल्ति नदोहोरियला भन्न सकिन्न त्यसैले कारबाही पनि हुनुपर्छ ताकि अबदेखि कसैले यस्ता गलत काम नगरुन् ।