| आइतवार, अशोज ११, २०७७

editorial

गोरखाको बस सेवा कसरी चलेका छन्, हेर्ने कि ?

जतिबेला नेपालमा कोरोनाले पाइला राखेको थिएन, हल्लाले मात्र छाएको थियो, मान्छेहरु असाध्यै डराउँथे । कोठाको कोठैमा हुन्थे । बाहिर निस्कँदा नि जिरिङजिरिङ हुन्थ्यो । जब फाट्टफुट्ट केस देखिएन थाल्यो मान्छेहरु पनि फाट्टफुट्ट बाहिर निस्कन थाले । जब केस छ्याप्छ्याप्ति देखिन थाल्यो, मान्छेहरु पनि डर न भरसँग खचाखच हिडेका छन् ।

सरकारले लकडाउन खुल्ला गरेसँगै सार्वजनिक यातायात पनि सुचारु गर्‍यो । जिल्लाभित्र सडक राम्रो भएका ठाउँहरुमा बस चलेका छन् । बस चलाउनका लागि सरकारले बिभिन्न मापदण्ड निर्धारण गर्‍यो । तर अहिले बस चलेका छन्, मापदण्ड पूरा भएका छैनन् ।
प्रहरीले प्रशासन कार्यालय, आफ्नो कार्यालय प्रवेश गर्ने चोकमा बसेर मास्क नलगाउनेलाई दण्ड जरिबाना गर्छ, किन्तु सार्वजनिक यातायात सेवा मापदण्ड अनुसार चलेका छन् कि छैनन् हेर्दैन ।

सार्वजनिक यातायातका साधनको एक सिटमा एकजना मात्र बस्ने, भाडा दुवै सिटको तिर्ने भन्ने सरकारी मापदण्ड छ । तर दुई सीटमा दुई जना नै बसेका छन्, परन्तु भाडा दोब्बर नै तिरेका छन् । मापदण्डले मास्क अनिबार्य गरेको छ, तर कसैले लगाएका छन्, कसैले छैनन् । भौतिक दुरी कायम गर्नू भन्ने मापदण्डमा उल्लेख छ तर बसभित्र, बाहिर घुइँचो हुने गर्छ । बसलाई सेनिटाइज्ड (भाइरस मुक्त) गर्नुपर्ने भन्ने मापदण्ड पनि पालना नभएको जो कोहीले देखेको छ ।

यसबारे अनुगमन गर्ने कसले हो ? नियमन गर्ने कसले हो ? सो निकायले पक्कै पनि सार्वजनिक यातायात सेवा कसरी चलेको छ भनेर निरीक्षण, अनुगमन, अवलोकन गर्नुपर्ने होइन र ?

प्रतिक्रिया दिनुहोस्