| शुक्रबार, चैत्र १६, २०८०

मनास्लुको स्याउलाई बजार ल्याउन पहल गर्नुपर्छ

गोरखामा जिल्ला भित्र उत्पादन भएको स्याउ जिल्लाबासीले प्रयोग गर्न पाएका थिएनन् । त्यसो त यहाँ स्याउको ब्यवशायीक उत्पादन भएको थिएन । उत्तरी गोरखा र तल्लो भेगका पनि केही ठाउँमा रहरका लागि घरमा दुई÷चार बोट लगाएपनि ब्यवशायीक खेती गर्नेहरु कम थिए ।

तर अहिले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा ब्यवसायीक स्याउ खेती सुरु भएको छ । अहिले त्यहाँ फलेको स्याउले बजार पाएको छैन भने सदरमुकाम लगायत जिल्लाका ग्रामिण बजारमा अन्यत्रबाट आयातित स्याउ खानुपर्ने बाध्यता छ ।

चिसो हावपानीमा फलेको रसिलो स्याउ । अन्यत्रबाट आयातितमा विषादी राखिएको आशंका हुन्छ । मनास्लु क्षेत्रको विषादी रहित स्याउ बजारमा पाइदैन । इटलीबाट ल्याइएका स्याउका बिरुवा लगाइएको छ । मनास्लु क्षेत्रमा पर्यटक जाने सिजनमा बिक्री होला भन्ने धेयले स्याउ लगाइएको थियो ।

पर्यटक र स्थानीय बजारमा बिक्री हुन बाँकी अन्यत्र लगेर बिक्री गर्ने योजना स्थानीयको थियो । तर कोभिड १९ का कारण मनास्लुमा पर्यटक आउजाउ सुन्य भयो, स्याउ ब्यापार पनि सुन्य । आउजाउ बन्द हुँदा बजार सम्म ढुवानी गर्न पनि समस्या भयो ।

मानिसले बोकेर वा हेलिकप्टरबाट ढुवानी गर्नुको बिकल्प नभएको त्यहाँ अहिले स्याउ स्थानीयले आफैँ खाने, रक्सी पार्ने, बस्तुभाउलाई खुवाउने गरेर सिध्याउनुपरेको छ ।

लटरम्म फलेको स्याउ बजार सम्म पु¥याएर बिक्री गर्ने हो भने स्थानीयको घरखर्च चल्ने मेसो मिल्थ्यो । स्याउ बजार सम्म ल्याउन स्थानीय सरकार वा प्रदेश सरकारले सहयोग गर्नुपर्ने देखिन्छन् ।

जसरी उत्पादन गर्नमा सहयोग मिल्यो बिक्री गर्नमा पनि सहयोग भयो भने बिरुवा लगाउँदाको उत्साह सँधै रहन्छ । आउँदो वर्षमा अझै धेरै स्याउ मनास्लु क्षेत्रमा फल्छ । बिक्री भएन भने किसान निराश हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्