| शनिबार, बैशाख ८, २०८१

स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरी खुल्ला परिवेशको सदुपयोग गरौँ

गोरखामा निषेधाज्ञा हटेर बजार खुल्ला भएको छ । यससंगै बजारमा मान्छेहरुको चाप बढिरहेको छ । यो निश्चित छ कि, जति मान्छेहरुको चाप बढ्छ, त्यही अनुपातमा कोरोना महामारी फैलने दर पनि बढ्छ । त्यसैले व्यक्तिले आफूलाई बचाउने उपाय अरुले होइन, आफैले अपनाउनु पर्छ ।


कोरोना रोकथामको बिकल्प निषेधाज्ञा होइन । जनजीवन चलायमान बनाउनु पर्छ । तर यसो भन्दैमा सबैभन्दा ठूलो प्राप्ति अर्थोपार्जन पनि होइन । जीवन रहे, धनसम्पत्तिको अर्थ हुन्छ । त्यसैले पहिलो प्राथमिकता स्वास्थ्य हो अनि मात्र कमाइ । यसलाई मनन गरी सावधानीपूर्वक दैनिक क्रियाकलाप गर्नुपर्छ ।
महामारी रोकथाम तथा नियन्त्रणमा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी तथा जिल्ला प्रशासन कार्यालय, स्थानीयलगायत तीनै तहका सरकारले बारम्बार भनिरहेको छ, स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउनू । मास्क लगाउनू, भौतिक दुरी कायम गर्नू, साबुनपानीले बरोबर हात धुनू आदि ।
यति गर्नु जटिल काम पनि होइन । बानी बसाल्ने कुरा न हो । कोरोना फैलिएको छ महिनाको यो अवधिसम्म आइपुग्दा प्राय मान्छे यति काममा अभ्यस्त भइसकेका छन् । यदि कोही मुख्र्याइँ गरिरहेका छन् भने उनीहरुले पनि यी आधारभूत उपाय अनिबार्य अपनाउनु जरुरी छ ।


‘कोरोना छैन, केही होइन’ भन्दै कतिपयले मुख्र्याइँ प्रकट गरिरहेका पनि छन् । कोरोनाको नाममा माफियाहरुले विभिन्न धन्दा गरिरहेका छन् । यो सत्य हो । यसको छानबिनको साँटो सरकारले ढाकछोप गरिरहेको हुनसक्छ तर कोरोनै नभएको होइन । यसलाई मुख्र्याइँ प्रदर्शन गरेर होइन वुद्धिमतापूर्वक सामना गर्नुपर्छ । त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर खुल्ला परिवेशको सदुपयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्