| बिहिबार, मंसिर ११, २०७७

editorial

सहरका जुवाडे पनि पक्रने कि ?

प्रहरीले पन्थेस्वाँराका जुवाडे पक्राउ गरेर वाहवाही कमायो । उनीहरुलाई मुद्धा दर्ता समेत गरेर दायित्व निर्वाहको दोस्रो खुड्किलो पनि पार गरेको छ ।


प्रहरीको चाडबाड बिशेष सुरक्षा योजनामा बाह्रमासे जुवा अन्त्य गर्ने सन्दर्भ प्रमुख प्राथमिकतामा थियो । सोही कार्यान्वयनको क्रममा प्रहरीले एउटा सफलता हात पार्‍यो । यसलाई निरन्तरता दिनु जरुरी छ ।


गोरखा बजारभित्र पनि धेरै घरमा बाह्रमासे जुवा खेलिन्छ । त्यसको ‘गन्ध’ प्रहरीको ‘इन्टेलिजेन्स’लाई राम्ररी थाह छ । आफ्नो रणनीतिभित्र परेको टार्जेट भेट्न यदि इमान्दार कदम चाल्ने हो भने हरमटारी, चाइनिजधारा ढुंगागाढेलगायतका ‘स्थायी खाल’ नियन्त्रणमा लिन कुनै आइतबार पर्खनु पर्दैन । यद्यपि जुवा खेलाउने सकुनी ‘राजनीतिक पावरदार’ भएकाले पक्राउ गर्न मुठि कसिलो बनाउने कि खुकुलो बनाउने भन्नेमा निर्भर गर्छ ।


जुवाडेलाई गाडीमा लिएर बिभिन्न सहर चहारेर जुवा खेलाउनेको बारेमा पनि गोरखाबजारबासी जानकार छन् । यस्ता बिषय खोजी गर्ने कामलाई मुख्य पेशा बनाएका ‘इन्टेलिजेन्स’ यस बिषयमा धेरै नै जानकार छन् । नियन्त्रणमा लिने कि नलिने भन्ने उनै जानुन् । नियन्त्रणमा लिएनन् भने किन लिएनन् भन्ने प्रश्न गर्न आम नागरिकलाई छुट छ ।


पन्थेस्वाँराका जुवाडे पक्राउ गरेपछि नाङ्लो ठटाउने काम भएको छ । हात्ति तर्से नतर्सेको अध्ययनको बिषय हो । अब नाङ्लो मात्र ठटाइरहने कि हात्ति नै धपाउने ? तर्साएर मात्र छाड्ने हो भने एकदिन, दुईदिन गर्दै सहरका जुवाडे नतर्सी सुरिँदै जान्छन् । यो व्यवहारिक यथार्थ हो ।
तसर्थ अब सहरका बाह्रमासे जुवाडेको खाल उठाएर देखाउने प्रहरी सामु चुनौति छ ।

प्रतिक्रिया दिनुहोस्