| बिहिबार, चैत्र १५, २०८०

लिगलिगकोटमा पर्यटकीय पूर्वाधार विकास गर

चारधामको तीर्थ गरेपछि पशुपतिनाथको दर्शन गर्नुपर्छ भनेझैँ नेपाल इतिहासको अध्ययन गर्नेले एक न एकफेर लिगलिगकोटको अवलोकन भ्रमण गर्नुपर्छ ।
लिगलिगकोट भनेको नेपाल एकीकरणको जग हो । जहाँ ४६२ बर्षअघि नेपाल एकीकरणको सिलान्यास गरिएको थियो ।


राजाको छोरो राजा नभै क्षमतावान व्यक्तिले शासन गर्ने लोकतान्त्रिक पद्धति, बर्षेनी राजा चुनिने गणतान्त्रिक पद्धतिको थालनी भएको, शाही सेनाको सुरुवात भएको, हिन्दूराज्यको सुरुवात भएको, नेपालकै सबैभन्दा ठूलो राष्टिूय झण्डा स्थापना गरिएको आदि कारणले लिगलिगकोटको महत्व स्वणर्िम अक्षरमा लेखिएको छ ।

जानकारहरु भन्छन्, पालुङ्टार नगरपालिका लिगलिगकोटको नामबाट नामाकरण गरिनुपर्छ । पालिकामा विजयी केही जनप्रतिनिधिहरुले यसका लागि लबिङ नगरेका पनि होइनन् तर सम्भव भएन ।
जे होस्, लिगलिगकोटको पर्यटन विकास गरी यहाँको आर्थिक, सामाजिक, शैक्षिक सुधार हुनु जरुरी छ ।

लिगलिगकोटको पर्यटन विकास गर्नका लागि यहाँ भौतिक पूर्वाधार विकास हुनु जरुरी छ । प्रमुखतः दरबार, कोट, गढी, किल्लाहरुको भग्नावेशहरुलाई सुरक्षित गर्नु जरुरी छ । यहाँ नष्ट भएका कतिपय सम्पदालाई जस्ताको तस्तै पुनर्निर्माण गर्नुपर्छ । लिगलिगकोटका कतिपय ठाउँमा पुरातात्विक आचार संहिताविपरीत निर्माण भएका संरचना हटाउनु, साइनबोर्ड तथा भित्ताहरुमा टाँसिएका अशोभनीय टिनका पाताहरु हटाउनु आवश्यक छ ।

लिगलिगकोटको केही तल्लोभेगसम्म सडक कालोपत्रे भएको छ । पर्यटकहरुलाई लिगलिगकोटसम्म पुग्न यसले सजिलो बनाएको छ । अझै यहाँ खानेपानीको व्यवस्था गर्नु आवश्यक छ । यहाँ मोबाइलको नेटवर्क राम्रो नआउने लगायतका असुविधा छन् । त्यसको समाधान हुनुपर्छ ।

समग्रमा यहाँको पर्यटन विकास गर्न आसपासमा ऐतिहासिक, साँस्कृतिक संग्रहालय, पिकनिकस्पट, प्याराग्लाइडिङ लगायतका संरचनाहरुको विकास गर्नु अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्