| शुक्रबार, बैशाख ३, २०७८

महाधिवेशन पथमा काङ्ग्रेस

लोकतन्त्रिक शासन व्यवस्थाको अगुवा दावी गर्ने नेपाली काङ्ग्रेस अहिले महाधिवेशनको तयारीमा जुटेको छ । भदौमा तोकिएको महाधिवेशनका लागि अहिलेदेखि नै जिल्ला, जिल्लामा कांग्रेसको गतिविधि बढिरहेको छ ।

गोरखामा पनि अहिले काङ्ग्रेसका केन्द्रीय सदस्य तहका नेताहरु दिनहूँ गाउँ अभियानमा छन् । प्रदेश तथा जिल्ला तहका नेताहरुले पनि अहिले जिल्ला छाडेका छैनन् ।
केहीदिनअघि मात्रै गोरखाको काङ्ग्रेसले क्षेत्र नं. २ को क्रियाशील सदस्यताको टुंगो लगाएको छ । क्षेत्र नं. १ को पनि अबको एकदुई दिनमै क्रियाशील सदस्यताको टुंगो लगाउने जनाएको छ ।
अहिले काङ्ग्रेस नेता, कार्यकर्ता दैनन्दिन जिल्ला सभा, क्षेत्रीय सभा, गाउँ तथा नगरसभा, टोलसभा, प्रशिक्षण आदि कार्यक्रममा तल्लीन छन् । यसले गोरखामा काङ्ग्रेसलाई जीवन्तता दिइरहेको छ ।

जुनसुकै पार्टीको प्राण भनेको नीति सिद्धान्त हो, शरीर भनेको नेता, कार्यकर्ता हुन् । यी दुईको सन्तुलनबाट पार्टी बाँच्छ, अघि बढ्छ । त्यसैले यिनीहरुलाई चलायमान बनाउनु पर्छ । केन्द्रमा मात्र ठाकठुक गरिरहेमा पार्टीको उँधै गति, उँधै मति हुनेछ ।
काङ्ग्रेस गोरखाले क्षेत्र नं. २ मा झण्डै सातहजार जना क्रियाशील सदस्य रहेको निचोड निकालेको छ । अधिवेशनअघि अब यो संख्यामा थपघट गर्न पाउने व्यवस्था छैन । यिनै सदस्यहरु अधिवेशनमा मताधिकारसहित सहभागी हुन पाउनेछन् ।

निर्धारित समयमा अभिवेशन गर्नु, निर्धारित समयमा नीति तथा नेतृत्व परिवर्तन गर्नु लोकतान्त्रिक पार्टीको पद्धति हो । काङ्ग्रेस अहिले त्यसैमा तल्लीन छ ।
अझै राम्रोचाहिँ के हुन्छ भने, नेताहरु अविच्छिन्न रुपमा जनता माझ जानु पर्छ । गणेशकारिता भन्दा कुमारकारिता गर्नेहरु निश्चित रुपमा सफल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्