| बिहिबार, बैशाख ६, २०८१

इन्भर्टरको बिजनेश बढाउँदै गोरखाको विद्युत प्राधिकरण

गोरखामा कहिले सूचना जारी गरेर, कहिले सूचनै नगरी विद्युत अवरुद्ध हुने क्रम बढेको छ । सूचना दिएर विद्युत अबरुद्ध हुँदा ग्राहकको खासै गुनासो रहन्न । प्रशारण लाइन सुदृढ गर्न ग्राहकले सहयोग नै गर्छन् । जति सकस बेहोर्नु परेपनि गुनासो गर्दैनन् तर जब बिना जानकारी, बिना सूचना विद्युत अवरुद्ध हुन्छ, ग्राहकहरुमा व्यापक गुनासो, आलोचना, आरोप, प्रत्यारोप सुरु हुन्छ ।
केहीदिनयता भएको विद्युत अबरुद्धप्रति रुष्ट ग्राहकले विद्युत प्राधिकरणले युपिएस, इन्भर्टर, ब्याटूीको बिजनेश बढाउने खेल खेलेको आरोप लगाउन थालेका छन् । विद्युत प्राधिरकणले यो आरोपको सामना गर्नुपर्छ । सामना गर्न अस्वीकार गर्ने हो भने साँझ खाना बनाउने, खाने बेला नियमितजसो विद्युत किन अबरुद्ध हुन्छ यसको जवाफ दिनुपर्छ ।
गोरखामा धेरै उद्योग कलकारखाना छैन । ग्राहकले उपयोग गर्ने भनेको नै अधिकांश भान्सामा तथा बत्ती बाल्न नै हो, केही विद्युत कम्प्युटरको काममा पनि खपत हुन्छ । चिम्नी, भट्टा, उद्योग, कलकारखाना जस्ता ठूला काम खासै विद्युत खपत भएको पाइँदैन । तैपनि गोरखाको विद्युत कटौती गरेर कतातिर पठाइएको छ ? खोजको विषय हुनसक्छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) कुलमान घिसिङले देशलाई नै लोडसेडिङमुक्त घोषणा गरेको केही दिन मात्र भएको छ । तर छिनछिनै झिमिक, झिमिक बत्ती आउने जाने समस्या, बिना जानकारी घण्टौ बत्ती जाने समस्या गोरखामा जारी छ । यो दुखद हो ।
प्राधिकरणले यस्ता काम हुन दिनुहुदैन । अन्यथा ग्राहकको आक्रोश, आरोप, प्रत्यारोप समन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्