| शनिबार, माघ ५, २०८१

गुणस्तरीयता परीक्षण गर

आँबुखैरेनीदेखि गोरखाबजारसम्मको २४ किलोमिटर सडकको चौडा बढाउने काम धमाधम भइरहेको छ । अहिले गोरखा बजारको हरमटारीसम्म काम हुन थालेको छ । अत्यन्त जीर्ण भएको सो सडकको दुवै छेउ कालोपत्रे भएपछि यातायातका साधन गुड्न धेरै नै सहज हुनेछ । यसअघि झै यातायातका साधन कुदाउन त्रास कम हुनेछ । यसअघि नै सवारी साधनलाई सकस हुनेछैन, यसअघि नै दुर्घटना भइरहने क्रम कम हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।
चौडा क्षेत्र जीर्ण भएकाले आजित सवारीचालकहरुले चौडा बढाउने काम गोरखा बजारबाट सुरु गर्नुपर्छ भन्ने माग राख्ने गरेका थिए । माग सुनुवाइ नभए पनि क्रमश अहिले काम गोरखा बजार क्षेत्रमा आइपुगेको छ । यो अबस्था सुखद छ ।
बजार क्षेत्रभित्र भइरहेको कामको गुणस्तरीयता कस्तो छ भन्ने बारे हामी सबैले मूल्यांकन गर्नुपर्छ । कहीँ कमजोरी भएको देखिएमा नजिकै रहेको प्रशासनमा उजुरी गर्नुपर्छ । चेकजाँच र कारबाहीको अधिकार प्रशासन कार्यालयसंग छ । गुणस्तरीयता खस्केको देखिएमा तथ्यपरक रुपले लिखित मौखिक उजुरी गर्न सकिनेछ । तसर्थ आफ्नो सडकको गुणस्तरीयता कायम गर्न कसैको भर नपरौं, कसैको मात्र धाक नहेरौं । केही दिनअघि काठमाडौं कार्यक्षेत्र भएका पत्रकार गोरखा आउँदा कालोपत्रे उप्काएर कामको गुणस्तरीयता उदांगो बनाएका थिए । त्यसपछि निर्माणकर्ता सजग भएका छन् । गुणस्तरीताको बारेमा बहश गर्ने हामी जो कोहीको पनि अधिकार छ ।
यसको डिजाइन कस्तो हो भन्ने बुझौं र डिजाइन अनुसार काम भए नभएको बारे सम्बन्धित ठाउँमा उजुरी गर्न तत्पर होऔं । जुनसुकै निकायलाई सजग गराउनु सचेत बर्ग जो कसैको कर्तव्य हो ।
सबै नागरिकसंग सूचनाको हक छ । आफ्नो हक अधिकारको प्रयोग गर्न जो कसैले तत्परता देखाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्