| शनिबार, बैशाख ८, २०८१

व्यवसायिक पत्रकारिताको विकास होओस्

पत्रकार महासंघ गोरखाको इतिहासमा यसपटक पहिलो पल्ट मतदानमार्फत नेतृत्व चयन भयो । कूल २९ मतमध्य नरहरि सापकोटाले १७ मत प्राप्त गरी नेतृत्व हात पारे । निकटत्तम प्रतिद्वन्द्वी दीपक श्रेष्ठ(जलन)ले १२ मत प्राप्त गरे ।

अन्य पदहरुमा भने दुवैजनाको समूहका पत्रकारहरु निर्विरोध निर्वाचित भएका छन् ।
चुनावी गतिविधि जे जस्तो भए पनि अब महासंघसामु गोरखाको पत्रकारिता कसरी चुस्त बनाएर अघि लाने भन्ने चुनौति छ ।
महासंघ गठन नभएको अबस्थामा पनि पत्रकारिता थियो । तर महासंघको अर्थ छरिएर रहेका पत्रकारलाई एउटै छातामुनि आवद्ध बनाउने हो । जुनजुन समूहबाट निर्वाचित भएको भए पनि समान रुपले व्यवहार गर्ने हो ।

पत्रकारिता गर्ने क्रममा कसैमाथि होची अर्गेल्याईँ भएमा पत्रकारहरुको संरक्षण गर्ने, पत्रकार र पत्रकारिताको पक्षमा साझाधारणा निर्माण गरी पत्रकार र पत्रकारितालाई सशक्त, मजबुद बनाउने महासंघको काम हुनेछ ।
अहिलेको टिम युवा टिम छ । स्वभावैले उनीहरु चमत्कार गर्न सक्ने जोशिला हुन्छन् । उनीहरुको तागत, जोशलाई उपयोग गरी गोरखाली र सिँगो नेपालको पत्रकारितालाई उँचो बनाउने अवसर र चुनौति छ । त्यो चुनौति र अवसर दुवैलाई उपयोग गरेर यो निर्वाचित टिमले भावी रणनीति बनाउनेछ ।

पत्रकारहरुले समाचार लेखेकै आधारमा दुव्यवहार खेप्नु पर्ने, भौतिक, मानसिक रुपमा आक्रमण गर्न सक्छन् । यस्तो अबस्था आएमा महासंघले ढाल बनेर पत्रकारको संरक्षण गर्नुपर्छ ।
त्यतिमात्र नभै पत्रकारलाई पेशाप्रति लगनशील, दक्ष, निपूर्ण बनाउने दायित्व पनि महासंघमा छ । सशक्तिकरण गर्ने, तालिम, प्रशिक्षण, विभिन्न अभियानहरु सञ्चालन गरी गोरखाको महासंघलाई उदाहरणीय बनाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्