| शनिबार, बैशाख ८, २०८१

गुणस्तीय एम्बुलेन्स ल्याउन किन हिच्किचाहट ?

११ वटा पालिका रहेको गोरखामा अहिले ५० वटा एम्बुलेन्स चालु छन् । आठ वटा एम्बुलेन्स सिफारिस लिने चरणमा छन् ।


९४ वटा वडा रहेको यहाँको एउटा(चुमनुब्री) गाउँपालिका(सातवटा वडा)मा सडक सञ्जाल जोडिएको छैन । धार्चेको पनि चारवटा वडामा सडक सञ्जाल चलेका छैनन् । ८३ वटा वडामा ५० वटा एम्बुलेन्स चल्छन् । यो भनेको करिब करिब पर्याप्त सेवा हो ।


अझै पनि माग हुने क्रम निरन्तर छ । यति धेरै एम्बुलेन्स सेवा रहेर पनि कतिपय बेलामा चाहिएका बेला एम्बुलेन्स नपाइने अबस्था छ । यसको कारण हो, सदरमुकाम केन्द्रीत हुनु, गोरखाको सिफारिसमा ल्याइएका एम्बुलेन्स जिल्ला बाहिर रहेर सञ्चालन हुनु, जुन ठाउँका लागि भनेर ल्याइएको हो, त्यही ठाउँमा चल्नुको साँटो अन्य ठाउँमा रहेर चल्नु ।


अर्को दुखद पक्ष के छ भने, गोरखामा जति पनि एम्बुलेन्स भित्रिन्छन्, सबै थर्डक्लास वा ग श्रेणीका । कसैले पनि क श्रेणीको, ख श्रेणीको एम्बुलेन्स ल्याउने प्रयास गरेनन् । यसको अर्थ हो, सेवा सञ्चालन गर्ने तर गुणस्तरीय सेवा नदिने । सबैभन्दा सस्तोखालको एम्बुलेन्स ल्याएर सञ्चालन गर्ने, भाडा असुल्ने तर बिरामीलाई आरामदायी गुणस्तरीय सेवा सञ्चालन नगर्ने ।
समयको विकासक्रम संगसंगै अन्य विभिन्न क्षेत्रमा धेरै परिवर्तन भएका छन् तर एम्बुलेन्स भित्र्याइएको प्रारम्भिक चरणदेखि अहिलेसम्म एम्बुलेन्सको गुणस्तरमा कुनै परिवर्तन छैनन् । सरकारी सिफारिसमा राजस्व छुटमा एम्बुलेन्स पाइन्छ भनेर सस्तो मोडलको गाडीलाई एम्बुलेन्स बनाएर चलाइरहेका छन् ।


अरु जिल्लाहरुमा गुणस्तरीय एम्बुलेन्स सञ्चालनमा रहेको देखिन्छ । तर हाम्रो जिल्लामा जति पनि छन्, सबै एउटै क्वालिटीका । त्यसैले अबका दिनमा बिरामीमैत्री खालको एम्बुलेन्स ल्याउने गरौँ ।

प्रतिक्रिया दिनुहोस्