| शुक्रबार, साउन १५, २०७८

editorial

चामल किन्न जाँदा मकै पनि किन्नु नपरोस्


अहिले गोरखाका खाद्यान्न थोक बिक्रेताहरुले तोरीको तेल किन्दा भटमासको तेल पनि किन्नै पर्ने व्यवस्था लागु गरेका छन् । किराना पसलेहरु तोरीको तेल किन्न थोक बिक्रेताको पसलमा जाँदा कसैले एक प्याकेट तोरीको तेल लैजानका लागि तीन पाकेट भटमासको तेल किन्नु पर्ने बाध्यकारी नियम बनाएका छन्, कसैले एक पाकेट तोरीको तेल किन्न अर्को एक पाकेट भटमासको तेल किन्नु पर्ने बाध्यकारी नियम बनाएका छन् ।
उनीहरुलाई पनि समस्या छ । किनभने उनीहरुले उद्योगमा तोरीको तेल किन्न जाँदा उद्योगले सातसय पाकेट भटमासको तेल किनेपछि मात्रै तीनसय पाकेट तोरीको तेल दिने गरेको छ । यो अबस्थालाई अध्ययन गर्दा उद्योगले नै यो बाध्यकारी अबस्था सिर्जना गरेको बुझिन्छ ।
यदि यो अबस्था रहिरहेमा खुद्रा पसलेले पनि अब एक पोका तोरीको तेल किन्नका लागि तीन पाकेट भटमासको तेल किन्नु पर्ने बाध्यकारी अबस्था सिर्जना नगर्लान् भन्न सकिन्न । किनभने यो लाद्ने प्रवृत्ति अन्त्य भएन भने समस्या जटिल हुन सक्छ । जसले गर्दा अब ग्राहक चामल किन्न जाँदा मकै पनि किन्नु पर्ने बाध्यकारी अबस्था आउन सक्छ । चिनी किन्न जाँदा नून पनि किन्नु पर्ने अबस्था नआउला भन्न सकिन्न ।
किनभने यहाँ उपभोक्ताको आबश्यकताको आधारमा भन्दा पनि व्यापारीको स्टक सामानको व्यापार गरिदिनु पर्ने बाध्यकारी अबस्था सिर्जना हुनसक्छ ।
यसप्रति स्थानीय सरकार, स्थानीय प्रशासन सचेत र सजग हुनुपर्छ । उपभोक्ता अधिकार स्थापित गर्न स्थानीय सरकार, स्थानीय प्रशासनले भूमिका देखाउन सक्नुपर्छ । अन्यथा कोभिडको नाममा कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता मारमा पर्न सक्छन् । यस्ता नजिर अन्य विभिन्न अबस्था पनि सिर्जना हुनसक्छन् ।

प्रतिक्रिया दिनुहोस्