| शुक्रबार, बैशाख ७, २०८१

बाढी, पहिरोग्रस्त क्षेत्रमा आश्वासन नबाँड


‘……..लाई लान्छु नभन, गरिबलाई दिन्छु नभन’ भन्ने लोकोक्ति छ । अहिले गोरखाका प्राय सबै गाउँठाउँका बासिन्दा बाढी पहिरोको चपेटामा छन् ।
कसैको ज्यूधन गुमेको छ, कसैको बस्ने घर गएको छ । कसैका रोपेको खेत गुमेको छ, कसैको रोप्न तयार गरेर राखिएको खेत बगेको छ । सडक, गल्ली, गोरेटो, पुल बगेको छ, बारी बगेको छ, घर जोखिममा छ, मान्छे बिस्थापित छन् ।
खानेपानी धारा, विद्युतीकरण, सिँचाई कुलो सबका सब बगेका छन्, जोखिम भएका छन् ।
प्राकृतिक विपतमा आफ्ना प्रिय जनता भेट्न जानु स्वभाविक छ । दुखका बेला नभेटेर सुखका बेला मात्र जनता भेट्दा जनता टेढिन्छन्, टाढिन्छन् । त्यसैले यतिबेला नेताहरु गाउँगाउँमा जानु वाञ्छनीय छ ।
तर कतिपय नेताहरु दुख खेपिरहेको ठाउँमा पुगेर तस्वीर खिचाउने, सेलिब्रेटी बन्न जाने अभ्यास पनि देखिदै, भोगिदै आइएको छ । यो नमकहराम नेताको प्रवृत्ति हो । लोकतन्त्रमा नागरिकसँग चित्त नबुझेको कुरा अभिव्यक्त गर्ने अधिकार छ । अभिव्यक्त गर्नका लागि सामाजिक सञ्जाल पनि छ । उसले नेताको अपच हुने व्यवहार देख्ने बित्तिकै सामाजिक सञ्चालको प्रयोग गरेर असन्तुष्टि पोखिहाल्छ ।
कतिपय नेताहरु विपतले हायलकायल भएका जनतासामु गएर हुने, नहुने आश्वासन बाँढेर ‘मुतको न्यानो’ दिने काम गर्छन्, जुन पूरा गर्न उनीहरुको बरकतले थाम्दैन । अनि जनता निराश हुन्छन् । यसले नेता, नेतृत्व र सिँगो राजनीतिप्रति नै वितृष्णा जगाउँछ । यसले राजनीतिमा दुरगामी असर पु¥याउँछ ।
तसर्थ विपतका बेला जनताको सामु पुग, तर आश्वासन दिन नहतारिऊ । बरु आफ्नै आँखाले देखेको सजीव समस्या निदानका लागि थाहै नदिई लागि पर ।

प्रतिक्रिया दिनुहोस्