| शनिबार, अशोज २, २०७८

छोरा र छोरी समान भन्ने आस्था जगाऔ


भनिन्छ, अल्प विद्या भयंकरी । वेदमा विश्व छ, वेदमा ज्ञान र विज्ञान सबै छ, परन्तु समाजमा वेदको अलग अलग व्याख्या, अपव्याख्या गर्नाले विभाजन आएको हो, विकृति छाएको हो ।
वेदमा कहीँ पनि महिला र पुरुष(छोरा र छोरी)मा भेदभाव छैन । शास्त्रमा कहिँपनि जात र वर्णमा भेदभाव छैन । विद्यमान समाज व्यवस्थामा जति पनि विभेद छन्, विकृति छन्, सबै वेदका, शास्त्रका अल्पजानिफकारहरुको अपव्याख्याका कारण भएका हुन् ।
समाज, समुदायमा विज्ञ, विद्वान, जानकारहरुको पनि तह हुन्छ । कुन विज्ञ, विद्वान वा जानकारसँग संगत गर्ने, कुन तहका जानकारमा आस्था राख्ने, कोसित शिक्षा, दीक्षा लिने, कुन तहका विज्ञ, विद्वान र जानकारले भनेको कुरा मान्ने भन्ने कुराले समाज सञ्चालनमा अर्थ राख्छ ।

हाम्रो(विशेषतः हिन्दू) समाजमा छोरा र छोरी(महिला र पुरुष)मा भेदभाव गर्ने अस्तव्यस्त व्यवस्था छ । यसैका कारण बाउआमा मरेपछिको अन्तिम संस्कार छोराले मात्र गर्नुपर्छ भन्ने आस्था छ । यसले समाजलाई ठूलो विखण्डनतिर लगेको छ । यसैलाई मूल बिषय बनाएर फरक धर्मावलम्बीहरुले धर्म परिवर्तनको हर्कत गर्ने गरिरहेका छन् ।
स्वघोषित पण्डित(जानकार)हरुले छोराले दिएको पिण्डपानी मात्र पितृले पाउने भन्ने शिक्षा फिँजाए, जसले गर्दा छोरीप्रति हेर्ने दृष्टिकोण फरक हुन गयो । छोरी बरु नजन्माए पनि हुने, छोराचाहिँ कुनै हालतमा जन्माउनै पर्ने बाध्यात्मक आस्थाले समाजमा जघन्य अपराधका घटनासम्म हुने गरेका छन् ।


यस्ता अन्धआस्था गलत छन् । छोरा र छोरी दुवै सन्तान समान छन् । अहिले विस्तारै मान्छेमा छोरा होस् वा छोरी, एक मात्र सन्तान जन्माएर चित्त बुझाउनेको संख्या विस्तारै बढ्न थालेको छ । छोरा होस् वा छोरी दुई मात्र सन्तान जन्माएर परिवारको योजना गर्नेहरु छन् । विभाजले समाजलाई भासतिर लैजान्छ । समानताको भावनाले समाज सुन्दर बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्