| बिहिबार, कार्तिक ४, २०७८

editorial

नेताहरु आन्तरिक विवादमा अल्झिनु हानिकारक


गीताको प्रथम अध्याय, ४४ औँ श्लोकमा भनिएको छ :
अहो वत महत्पापं कर्तु व्यवसिता वयं,
यद्राज्यसुखलोभेन हन्तुं स्वजनमुद्यता
अर्थात ः अहो, कति आश्चर्य । राज्यको सुख भोग्ने लोभमा परेर आफ्नै स्वजनहरुलाई समाप्त पार्न तयार भएर ठूलो पापकर्म गर्न खोजिरहेका छौँ ।


गीता पढिएन भने जीवन जगतका धेरै पक्ष बुझिँदैनन् अर्थात पढियो भने जीवन जगतका सबै पाटा, पक्षहरु बुझिन्छ भन्ने गरिन्छ ।
अहिले देशमा नेपाली काङ्ग्रेस, नेकपा(माओवादी केन्द्र), राप्रापा र केही समयमै एमाले पनि महा अधिवेशनमा होमिदैछन् । उनीहरु अहिले सेल स्तरको, वडा स्तरको, गाउँ–नगर स्तरको, निर्वाचन क्षेत्र स्तरको प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशनमा छन् । केही समयमै जिल्ला स्तरको अधिवेशन पनि गर्दैछन् ।


आकारगत हिसाबले ठूला पार्टी होउन् वा साना पार्टी, सबै पार्टी आन्तरिक कलहमा नराम्ररी फँसेका छन् । गुटबन्दीमा नराम्ररी जकडिएका छन् । यतिसम्म कि एक गुट र अर्को गुटको कतिपय नेता, कार्यकर्ता बीच बोलचाल छैन । एउटाले पाए अर्कालाई पाताल धस्ने अबस्थामा छन् । एक गुटले अर्को गुटलाई सत्तोसराप गर्ने गरेको पाइन्छ । हेपिएका, दपेटिएका, निरिह बनेका, छुटेका, वञ्चित भएकाहरु धन्नैधन्नै पार्टी छोड्ने, राजनीतिबाट सन्यास लिने अबस्थामा समेत पुगेका छन् । कतिपयले ‘तँलाई आमनिर्वाचनमा पख्, प्रतिनिधिसभा, प्रदेश सभा, पालिकाको चुनाब त आउन दे’ भनेर दागा धरेर बसेका छन् ।


कुनै दिन(ढिलो वा चाँडो) निर्वाचन आउने छ । गुटीय छिनाझपटीको असर त्यतिबेला छर्लङ्ग देखिनेछ । यसअघि पनि आन्तरिक द्वन्द्वका कारण घात, अन्तरघात, प्रतिघाट भएको थियो । अझै पनि त्यस्तो नमिठो पक्षको पुनरावृत्ति हुनेछ ।
त्यसैले गीताको श्लोकमा भनिए झैँ एउटै परिबारमा मेलमिलाप हुन सकेन भने लाभ अर्काले लिने निश्चित छ । तसर्थ सुमधुर सम्बन्ध बनाउँदै पूर्ण प्रजातान्त्रिक परिपाटी अपनाउँदै अधिवेशन सम्पन्न गर ।

प्रतिक्रिया दिनुहोस्