| शनिबार, बैशाख ८, २०८१

धोका दिनेलाई नै इनाम ?

जब दण्ड पाउनुपर्ने मान्छे पुरस्कृत हुन्छ, अनि नेपाली जनमानसमा ‘चोरलाई चौतारो, साधुलाई सुली’ भन्ने उखान प्रयोग हुन्छ ।
गोरखाको ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्व बोकेको धरोहर ‘गोरखा दरबार’ पुनर्निर्माणको कामको जिम्मा शिवाको निर्माण कम्पनीले लिएको थियो ।

निर्धारित समयमा काम सम्पन्न गर्न नसकेर लाचार भएको सो कम्पनी जनमनमा आलोचित थियो । अन्य जिल्लामा यस्तो दुर्गति गरेको भए यस्ता निर्माण व्यवसायीको फोटो चोक चोकमा टाँग्ने थिए ।


तर पुरातत्व विभागले काम ठग्ने ठेकेदारलाई कारबाही गर्नुको साँटो फेरि ठेक्का दिएको छ । जुन काम सो ठेकेदारले सम्पन्न गर्न नसकेर पुनः टेण्डर गरिएको छ, त्यही ठेक्का, त्यही ठेकेदारले फेरि पाउनु कहाँसम्मको लज्जास्पद बिषय हो । गल्ती गर्ने धोकेवाज ठेकेदारलाई कारबाही गर्नुको साँटो विभागले फेरि उनैलाई ठेक्का दिनुभित्रको रहस्य पछि खुल्दै जाला ।


गोरखा दरबार ठडिएपनि त्यहाँ भित्रको काम पूरा गर्न बाँकी छ । ७३ लाख ३८ हजार रुपैयाँमा बाँकी काम सम्पन्न गर्न टेण्डर आह्वान गरिएकोमा २१.३३ प्रतिशत घटेर ५६ लाख १६ हजारमा शिवाको र यरिसार रोयल जेभीले कामको जिम्मा पाएको हो ।


सो टेण्डरअन्तर्गत पेटी निर्माण, रङगमहलमा पेटी, इट्टा बिछ्याउन, गाह्रोमा प्लास्टर गर्ने, झ्याल ढोकामा खापा लगायतका काम बाँकी रहेको छ ।


२०७४ कात्तिकमा दुई वर्षभित्र दरबार निर्माण सक्ने गरी पुन निर्माणको जिम्मा पचली शिवाको जेभीले लिएको थियो । तर काम गर्न चारवर्ष समय लाग्यो । पुरातत्व बिभागले पटक–पटक ताकेता गर्दा पनि पचली शिवाको जेभीले काम गर्न सकेन ।

उसकै कारण अधुरो काम गर्न नयाँ ठेक्का आह्वान गरिएको हो । नयाँ ठेक्का पनि पुरानै कम्पनीले लिएपछि बिभागले काम समयमै सकिनेमा आशंका गरेको छ ।


दरबारमा अहिले कालिका र रङ्गमहलको मर्मत पनि सुरु भएको छ । रेट्रोफिटिङ गरेर मर्मत गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्