| बिहिबार, कार्तिक ४, २०७८

editorial

चुम्चेत, छेकम्पार जाने बाटो सुचारु गर


धेरै आन्दोलन भए, राज्य व्यवस्थामा धेरै पटक परिवर्तन भए । समावेशी, समानुतिक विकासका नाराहरुले आकाश, धर्ती गुञ्जिए । पुरातनवादी शोषणयुक्त शासनको आरोपमा राजतन्त्र अन्त्य भयो । उत्तर आधुनिक लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो ।


परिवर्तनले गद्धीमा बस्ने पात्रहरु मात्र फेरिए तर देशको मुहार फेरिएन । प्रजातन्त्रवादी, गणतन्त्रवादी, अग्रगामी, प्रतिगामी जे जे विशेषणयुक्त शासकले बाग्डोर सम्हाले पनि मुलुकले जनप्रेमी शासकको प्रत्याभूति गर्न सकेको छैन ।


नातावाद, कृपावाद, फरियावाद मौलाएकै छ । घुसखोरी, भ्रष्टाचार, तस्करी, चाकडीवाद, दलाली व्यवस्था दिनानुदिन बढिरहेको छ । जातीय, लैंगिक, बर्गीय, भौगोलिक दृष्टिकोणले गरिने विभेदमा कत्तिपनि कमी भएको छैन ।
सुगम र दुर्गममा गरिने हरेक काम आकास, जमिनको भेद छ ।


अहिले चुम उपत्यका जाने बाटो लोक्पामा पहिरिएको छ । झण्डै एक किलोमिटर लामो पहिरोले जनमानसमा धेरै ठूलो असर गरेको छ, प्राकृतिक सम्पदाको पनि क्षय भएको छ । साविक चुम्तेत र छेकम्पार गाविसका हाल झण्डै १८ वटा गाउँटोलका बासिन्दा पालिकाको केन्द्र तथा वडा कार्यालयमा समेत हिडडुल गर्न पाएका छैनन् ।


जगतबगर, यारुबगर र लोक्पा पहिरोका कारण बिगत तीन महिनादेखि चुम्चेत, छेकम्पारमा खाद्य सामग्री ढुवानी हुन सकेको छैन, जसले गर्दा त्यस क्षेत्रमा खाद्यान्नको ठूलो अभाव पैदा भएको छ । चामल छैन, दाल, नून, तेल, चिनी केही पनि अहिले सो क्षेत्रमा छैन ।
तत्काल सो पहिरो व्यवस्थापन गरी बाटो खुलाइएन भने त्यस क्षेत्रमा खाद्य संकट पैदा हुन सक्छ ।


त्यसैले सो ठाउँमा निरन्तर पहिरो खसिरहने हो भने बैकल्पिक ठाउँबाट हिड्न मिल्ने बाटो खुलाउन जरुरी छ । त्यहाँ उत्पन्न समस्या समाधान गर्न गम्भीर रुपमा लागि पर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्