| शुक्रबार, चैत्र ७, २०८१

औषधीमा गर्ने लगानी स्वस्थ खानेकुरामा लगाऔँ

गोरखा नगरपालिकाका बासिन्दाले प्रतिमहिना ३३ लाख रुपैयाँभन्दा बढिको नियमित औषधी खाने गर्छन् । नगरपालिकामा बसोबास गर्ने ५३ हजार ८८५ जनामध्य नसर्ने रोगको नियमित औषधी सेवन गर्नेको संख्या छ हजारभन्दा बढी रहेको छ ।
नसर्ने रोगको नियमित औषधी खानेहरुमध्य सबैभन्दा धेरै उच्च रक्तचापका बिरामी छन् । त्यसपछिको धेरै मधुमेहको औषधी खानेहरु छन् ।

चालु आर्थिक बर्ष तीनहजार तीनसय जनाले नियमित रुपमा प्रेसरको औषधी खाइरहेका छन् । गतबर्ष २५ सय जनाले खाएकामा यो बर्ष आठसय जना थपिएका हुन् । प्रेसरको औषधी खानेको संख्या प्रत्येक बर्ष सातदेखि आठसयका दरले बढ्ने गरेका छन् । अहिले करिव दुई हजार जनाले सुगरको नियमित औषधी सेवन गर्ने गरेका छन् ।

औषधी सेवन गर्नेको संख्या बर्षेनी तीन सयका दरले बढ्ने गरेको छ । ग्यास्टिकको औषधी नियमित सेवन गर्नेको संख्या पनि दुईहजार नौसय छ । गोरखा नगरपालिकाभित्र विशेषगरी ब्लडप्रेसर, सुगर, दम, मुटु रोग, थाइराइड, डिप्रेशन र मानसिक समस्याको औषधी सेवन गर्नेहरुको संख्या पनि धेरै छ । ढाड र घुँडा दुख्ने समस्या भएकाहरुले पनि नियमित औषधी सेवन गर्दै आएको उनले जानकारी दिए । औषधीमा यति धेरै रकम खर्च हुनु दुखद विषय हो ।

औषधीमा खर्च गर्ने यति धेरै रकम बरु स्वस्थ, स्वच्छ, तागतिलो खानेकुरामा खर्च गर्नु वुद्धिमानी हुन्छ । औषधीले पनि रोगव्याध हटाउन मद्दत गर्छ तर रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु कैयौंगुना वुद्धिमानी हुन्छ । यस्ता विषयमा जिल्लामा रहेको, पालिकाहरुमा रहेका स्वास्थ्य संस्थाहरुले जनचेतना जगाउनुपर्छ । ती स्वास्थ्य संस्थाहरुले पनि यस्ता औषधी खरिदमा प्रयोग गर्ने रकम बरु जनचेतना जगाउने कार्यक्रममा खर्च गर्नु मनासिव हुनेछ ।

प्रतिक्रिया दिनुहोस्