| मङ्लबार, बैशाख १८, २०८१

अनुसरणीय योजनाहरु कार्यान्वयनमा ल्याउ

जिल्लाका केही स्थानीय तहलाई अहिले नविनतम योजनाहरु ल्याउने र कार्यान्वयन गर्ने हुटहुटी जागेको छ । सबै पालिकाले यो क्षमता नराख्न पनि सक्छन् । त्यो नेतृत्व तहमा पनि निर्भर हुने कुरा रह्यो । तर केही पालिकाहरुले भने नयाँ प्रयास गरिरहेकै छन् ।

सिरानचोक गाउँपालिकाले बिद्यालयमा संचालन गरेको एकीकृत स्वास्थ्य सेवालाई एउटा उदाहरणको रुपमा लिन सकिन्छ । माध्यमिक तहका बिद्यार्थीलाई लक्षित गरी पालिकाले बिद्यालयमै पुगेर आँखाको स्क्रिनिङ, मानसिक रोग र योगा सम्बन्धी सेवा प्रदान ग¥यो । समयसापेक्ष भएकाले पनि यो कार्यक्रम प्रभावकारी नै रह्यो भन्दा फरक नपर्ला ।

जिल्लाका स्थानीय तहको कार्यसम्पादन र मूल्याकंनलाई नै आधार बनाउने हो भने नियमित कामकाज वाहेकका त्यति धेरै उपलब्धी हुन सकेको देखिएको छैन । केही पालिकाहरु गुमनाम छन् । केहीले चर्चा बटुलेकै छन्, राम्रो काम गरेर होस् वा विवादित बनेर । जनताले ठुलो अपेक्षा गरेको स्थानीय तह गुमनाम हुनु, नयाँ योजनाहरु बनाएर कार्यान्वयनमा ल्याउन नसक्नु नेतृत्व तहकै कमजोरी हो ।

पदमात्र ओगटेर बस्नुको अलावा नागरिकको हक हितका लागी केही नयाँ कामहरु आफ्नो पालामा गर्न सके पछिसम्म पनि नेतृत्व गर्नेहरुको नाम स्मरणमा रहिरहन्छ । तर धेरैले त्यो प्रयास गर्न सकेका छैनन् । अहिलेका अधिकांश स्थानीय तहले गरेका कामहरु बिवादमा आउने गरेका छन् । पालिका र पालिकावासीकै हितका लागी गरिएका कामहरु विवादित बन्दा कतै व्यक्तिगत स्वार्थ र लाभका लागी योजनाहरु कार्यान्वयनमा ल्याउने काम त भएका छैनन् भन्ने प्रश्नचिन्ह खडा हुनुलाई अन्यथा लिन सकिदैन ।

जे भएपनि पालिकाहरुले आम नागरिक हकहितका लागी योजना ल्याउने र कार्यान्वयन गर्ने गर्नुपर्छ । व्यक्ति स्वार्थ र लाभ सँगै पार्टीगत बिभेद राख्न हुन्न । पालिकावासिलाई फाइदा पुग्ने गरी नविनतम योजना ल्याउन र त्यसको कार्यान्वयन गर्न पालिकाहरु चुक्नु हुदैन । त्यसमा साथ र सहयोग गर्नु पालिकावासिको दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्