| बिहिबार, चैत्र ६, २०८१

एसईई अनुत्तिर्णलाई पालिकाको साथ प्रशंसानीय

आजका बालबालिका भविष्यका मुलुकको बाग्डोर सम्हाल्ने जनशक्ति हुन् । त्यसैले उनीहरुलाई सँधै प्रेरणा, हौसला, प्रोत्साहन गरिरहनु पर्छ । उनीहरुको उर्जाको दीयोमा तेल थप्ने काम सदासर्वदा गरिरहनु पर्छ ।
अहिले यो बर्ष एसईईमा धेरै बालबालिका अनुत्तिर्ण भएर निराश भएको अबस्था छ । एसईईमा अनुत्तिर्ण हुनुलाई उनीहरुले जिन्दगीमै फेल भए सरह लिएर हतोत्साही भएका छन् । उनीहरुमा उर्जा जगाउनु जरुरी छ । उनीहरुलाई एसईई मात्र सबैथोक होइन, एसईईमा फेल हुँदैमा जहाजै डुब्ने होइन भनेर उत्साह जगाउनु अपरिहार्य छ ।
उनीहरुमा उत्साह जगाउनु सबैको दायित्व हो । विशेषगरी स्थानीय सरकारले उनीहरुलाई साथ र सहयोग गर्नुपर्दछ ।
एसईई फेल भएर निराश भएकाहरुलाई साथ र सहयोग दिनमा आँबुखैरेनी गाउँपालिकाले नमूनायोग्य काम गरेको छ । उसले त्यस्ता विद्यार्थीहरुलाई आँबुखैरेनी बजारको रामशाह मावि र सत्रसय बजारको मित्रता माविमा आवासीय सुविधासहितको ट्युशन पढाउने व्यवस्था गरेको छ । पालिकाभरबाट अनुत्तिर्ण भएका बालबालिकालाई ती विद्यालयको छात्राबासमा खाने बस्ने व्यवस्थासहित राख्ने र ट्युशन पढाउने र एसईईको पुनर्परीक्षासम्म सघन निगरानीमा राखेर पढन् लगाउने व्यवस्था गरेको छ ।
पालिकाले लिने अभिभावकत्व भनेको यही हो । कतिपय बुबा आमाले समेत फेल भएका आफ्ना बालबच्चालाई हेप्ने, निराश बनाउने गरिरहेका बेला पालिकाले यसरी जिम्मेवारी लिएर खानेबस्ने सुविधासहित पढाउने व्यवस्था गर्नु भनेको असल अभिभावकत्व बहन गरेको हो । पालिकाको यो कदम अति सह्रानीय छ ।
त्यस्तै गोरखाको बारपाक सुलिकोटले पनि कुनै एनजीओसंग समन्वय गरी अनलाइनबाट ट्युशन पढाउने व्यवस्था गरेको छ । यो पनि धेरथोर सकारात्मक पहलकदमी हो ।
साथ दिने दुखमा हो । सुखमा त कसैको साथ चाहिँदैन । पीडामा परेका एसईईमा फेल भएकालाई साथ दिने पालिकाको कार्य अति प्रसंसनीय छ ।

प्रतिक्रिया दिनुहोस्