| सोमवार, चैत्र ३, २०८१

सडक नालीको पहिरो बेलैमा हटाऔँ

हिमाल, पहाड, तराइ जस्ता विविधताका कारण नेपाल विश्वमै सुन्दर देश हो । तर जुनसुकै कुराका पनि सकारात्मक र नकारात्मक पाटो हुन्छ भनेझै नेपालको यही भौगोलिक अबस्था विकास निर्माणका लागि बोझ छ ।
आर्थिक रुपमा मुलुक गरिब छ । थुकतेल गरेर संगालेको बजेटले विकास निर्माणको काम गर्ने वित्तिकै पहिरिएर जाने वा माथिबाट आएको पहिरोले पुरेर क्षतिग्रस्त बनाउने गर्छ ।
अहिले गोरखाको चुमनुब्रीबाहेक प्राय सबै गाउँबस्तीमा सडक सञ्जाल पुगेको छ । कैयौँ सडक स्तरोन्नति(कालोपत्रे, ग्राभेल) भइसकेका पनि छन् । यस्ता सडक पनि बर्खाका बेला सवारी साधन चल्न योग्य छैनन । कैयौ सडक पहिरिएर गएका छन्, कैयौँ सडकमाथि माथिबाट खसेको पहिरोले छोपिरहेको छ ।
नाला नभएका सडकको कुरै नगरौँ, सडक खनिएका सडकको पनि नाला छोपिने गरी पहिरो आएर बसिदिएको छ । यसो हुँदा जब बर्षा हुन्छ, तब भेल, बाढी सडकबाटै कुद्छ । सडकमा धेरै समय पानी बग्यो भने भत्किन सुरु गर्छ । अनि बल्लतल्ल गरेको कालोपत्रे पनि आँखै अघि, हेर्दाहेर्दै भत्किएर जान्छ ।
सडकमाथि पहिरो आएर बस्यो भने स्थानीय सरकारको त्यसलाई हटाउने तत्परता देखिन्छ । यो धेरै सकारात्मक कुरा हो, तर सोही सडकको नालामा पहिरो आएर बसेको छ र सडकमा पानी बगेको छ भने नाला सफा गर्ने परिपाटी भने देखिँदैन ।
गोरखा आँबुखैरेनी सडकको विभिन्न खण्डमा नाला छोपिने गरी पहिरो खसेको छ । सडकमा खसेको पहिरो पन्छ्याए पनि नाला पुरेको पहिरो पन्छ्याइएको छैन । अहिले हेर्दा नै पानी बगेको सडकमा खाल्टो परेको देखिन्छ । सो खाल्डो विस्तारै बढ्दैबढ्दै जान्छ । अनि सडक कुरुप बन्छ ।
सडक विभागले सडक हेरालु नियुक्त गरेका छ । उनीहरुको प्रयोग गरेर भने पनि सडक छेउकुनाको पहिरो पन्छ्याउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्