
डेंगुबाट बच्न उच्च सतर्कता अपनाऔं
डेंगु रोगको संक्रमण जिल्लामा पनि फैलिन थालिसकेको छ । दश दिनको अन्तरालमा जिल्लामा १२ जनामा डेंगु संक्रमण पुष्टी भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउछ । कार्यालयको केही बर्ष यताको तथ्याङ्क केलाउने हो भने पनि जिल्लामा डेंगु संक्रमणको दर बढ्दो देखिन्छ । यसले महामारीको रुप लिनु अघि नै संक्रमणबाट बच्न बेलैमा सावधानी अपनाउनु जरुरी छ ।
डेंगु लामखुट्टेको टोकाइबाट हुने घातक रोग हो । डेंगुका धेरैजसो लक्षणहरू सामान्य भाइरल ज्वरोसँग मिल्दोजुल्दो हुने भएकाले धेरैजसो मानिसले ज्वरोलाई भाइरल भएको भन्दै बेवास्ता गर्छन् । कथंकदाचित दोस्रोपटक डेंगु भाइरसबाट संक्रमित व्यक्तिमा गम्भीर रोग लाग्ने जोखिम बढी हुन्छ । बिशेष गरि असोज र कात्तिक महिनामा यसको संक्रमण हुने खतरा बढी हुन्छ ।
बिशेष गरि डेंगु संक्रमण फैलाउने लामखुट्टेले पानी जमेको ठाउँमा फुल पार्छ ।
एडिज जातको यो लामखुट्टेले दिनको समयमा टोक्छ । खासगरी बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले पूरै शरीर ढाक्ने लुगा लगाउनुका साथै लामखुट्टेले नटोक्ने मलम शरीरका देखिने भागमा लगाउनुपर्छ । घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, पानीको भाँडो वा ट्याङ्कीलाई जहिले पनि छोप्ने गर्नुपर्छ । आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने गरेमा पनि यसको संक्रमणबाट बच्न सकिन्छ ।
संक्रमण हुदाँ सतर्कता देखाउने तर अरु बेला अस्ताउने प्रवृतिका कारण पनि संक्रमणको दर बढ्दै गएको हो भन्दा फरक पर्दैन । पूर्व तयारीमा पनि सम्बन्धित निकाय सधै चुक्दै आइरहेको छ । यस तर्फ उनीहरुको ध्यान जानु जरुरी छ ।