| शुक्रबार, चैत्र ७, २०८१

गृहजिल्लामै बिद्यार्थी टिकाउन पालिका स्तरबाटै पहल थालौ

बिदेश होमिएको युवा शक्तिको लहरको प्रत्यक्ष प्रभाव शैक्षिक क्षेत्रमा पनि परेको छ । स्नातक तहदेखि बिद्यार्थीको संख्या तुलनात्मक रुपमा घट्दो छ । बिद्यार्थीको बाक्लै उपस्थिती देखिने जिल्लाका केही क्याम्पसहरुको हालत पनि अहिले उस्तै भइसक्यो ।

स्नातक तहका बिद्यार्थीलाई देशमा टिकाउन नसकिरहेको अवस्थामा जिल्लाका माध्यमिक तहका बिद्यार्थीलाई जिल्लामै टिकाउन पनि चुनौती छ । नजिकको तिर्थ हेला भने झै आफ्नै गाउँठाउँमा रहेको शैक्षिक संस्थाभन्दा अन्य ठुला शहरका शैक्षिक संस्था प्रति बिद्यार्थीको मात्र होइन अभिभावको पनि रुची बढेको देखिन्छ । गाउँका शैक्षिक संस्था रित्तिदै जाने र ठुला शहर र बिदेशका शैक्षिक संस्थाहरु भरिदै जानु दुखद हो ।

यही क्रमलाई भंग गर्ने उदेश्य सहित शहीद लखन गाउँपालिकाले प्रोत्साहन कार्यक्रम ल्याएको छ । पालिका घर भई सोही पालिका वा गृह जिल्लाका शैक्षिक संस्थामा पढ्ने बिद्यार्थीलाई प्रोत्साहन गर्ने उदेश्य सहित ल्याइएको उक्त कार्यक्रम प्रशंसनीय छ ।

प्रोत्साहन स्वरुप शुक्रवार गृह जिल्लामै बसेर क्याम्पसमा अध्ययनरत पालिकाका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण समेत गरियो । यसले गृह जिल्लाकै शैक्षिक संस्थामा पढ्ने प्रवृतिको बिकास हुन सक्छ भन्नेमा दुइ मत छैन । शहीद लखनले थालेको यो प्रयासलाई अन्य स्थानीय तहले पनि अनुशरण गर्नु राम्रै होला । आफ्नै पालिका वा गृह जिल्लामा रहेको शैक्षिक संस्थालाई टिकाउन पनि यस्ता खालको कार्यक्रमले सहयोग पुग्ने नै छ ।

हुन त शैक्षिक संस्थाले पनि आफ्नो गुणस्तरमा केही सुधार गर्नु जरुरी छ । जसका कारण बिद्यार्थीहरुमा अध्ययनका लागि जिल्ला बाहिर जाने अभिरुची नहोस् । शहीद लखनले जस्तो प्रोत्साहन कार्यक्रम ल्याउन सके मात्र पनि घट्दै गएका शैक्षिक संस्थाका बिद्यार्थीहरुको पुनर्वहालीका लागि केही मद्दत पुग्ने थियो की !

प्रतिक्रिया दिनुहोस्