सभ्य र सरल तरिकाले तिहार मनाऔँ
नेपालीहरुको महान चाड दसैँ सकिएर तिहार भित्रि सकेको छ । कात्तिक कृष्ण त्रयोदशी दिनदेखि सुरु हुने यो पर्व पाँच दिनसम्म मनाइन्छ । कात्तिक शुक्ल पक्षको द्धितीयामा भाइटिका लगाएपछि तिहार सम्पन्न हुन्छ । हिन्दु धर्मशास्त्रले तिहारको पाँच दिनलाई यमपञ्चकको रुपमा पनि व्याख्या गर्छ ।
त्यसो त तिहारमा जुवा खेल्ने र पटाका पड्काउने पनि गर्छन् । देउँसी र भैलो खेलेर मनोरञ्जन गर्नु तिहारको अर्को मौलिक विशेषता हो । विशेषगरी नाचगान गर्दै खेलिने देउँसी भैली तिहारको अरू चाडभन्दा पृथक विशेषता हो । तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । दिपावली गरेर खुशीयाली मनाइन्छ । तिहार विशेष गरी पारिवारिक आत्मीयता बाँड्ने अवसर पनि हो ।
तर परिवेश अनुरूप मनाउने शैली फेरिँदै गएको देखिन्छ । घर साजसज्जा, किनमेल लगायतका कारण तिहार खर्चिलो बन्दै पनि गएको छ । विशुद्ध मनोरञ्जनका रूपमा लिइनुपर्ने देउसी–भैलोलाई कतिपयले अर्थ संकलनको माध्यम पनि बनाउने गरेका छन् । तिहार कतिपयका लागि जुवा–तास खेल्ने पर्व पनि बनेको छ । पटकाजस्तो विस्फोटक पदार्थले दुर्घटना निम्त्याउने जोखिम पनि उत्तिकै छ ।
रमाइलो गर्ने नाममा यो चाड पनि भड्किलो बन्दै गएको छ । आफ्नो हैसियत भन्दा धेरै खर्च गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ । अर्कोतिर, देउसी भैलोको नाममा होहल्ला गर्ने, चन्दा माग्ने विकृतिहरु पनि बढेका छन् । यही मौकामा मनोमानी मूल्य राखेर व्यापारीले उपभोक्ता ठग्ने गरेको पाइन्छ ।
पर्वका समयमा हुने यस्ता गलत प्रवृत्ति अन्त्य हुनु जरुरी छ । सभ्य र सरल तरिकाले तिहार मनाउऔ । इष्र्या र बदलाको भावनालाई निर्मुल पार्दै एकापसमा सद्भाव बढाऔँ । तिहारको हार्दिक मंगलमय शुभकामना ।