| आइतवार, माघ २७, २०८१

पर्यटन बर्षका कार्यक्रम चाँडो थालौँ

‘गोरखा, जहाँ इतिहास जीवित छ’ भन्ने मूल नाराका साथ गोरखा नगरपालिकाले यस बर्षलाई गोरखा भ्रमणबर्ष घोषणा गरेको छ । घोषणा गर्ने निर्णय भएको लामो समय भइसकेको छ, तर औपचारिक रुपमा भ्रमणबर्ष उद्घाटन गर्ने तथा भ्रमणबर्षसंग लक्षित कार्यक्रमको भने अझै सुरु भएको छैन ।
भ्रमण बर्षका लागि स्टिकर र ब्याच निर्माण भइसकेको छ । पालिकाले भ्रमणबर्ष उद्घाटनको गृहकार्य गरिरहेको जनाएको छ । पालिकाले भ्रमणबर्षलाई लक्षित गरी ५६ वटा धार्मिक एवं पर्यटकीय स्थलको पहिचान गरी त्यसको जानकारी समेटिएको बुकलेट तयार गर्दैछ । विभिन्न विवरणहरु उल्लेख भएको साइनबोर्ड राख्ने काम पनि अघि बढिसकेको छ । आँवुखैरेनीदेखि गोरखा बजारसम्म क्यूआर कोडसहितको ‘स्ट्रिट नम्वर’ राख्ने योजना बनाएको छ । पर्यटकलाई क्यूआरकोड उपलब्ध गराउने जहाँ स्क्यान गरेपछि त्यो बाटोबाट पुग्ने ठाउँ र त्यस ठाउँको महत्व लगायतका विवरण जानकारी प्राप्त हुने व्यवस्था नगरपालिकाले गर्न लागेको छ ।
बसपार्क आसपास सूचना केन्द्र स्थापनाको तयारी पनि थालेको नगरपालिकाले जनाएको छ । कुहिरेभिर डाँडामा टाढैबाट देख्न सकिने गरी गोरखा जिल्लाको नक्सा निर्माण गरिने जहाँ रातमा पनि देखिने गरी बत्ती जडान गर्ने योजना छ । बजार क्षेत्रको सुन्दरताका लागि फुटपाथलाई व्यवस्थित गर्ने, ढल निर्माण गर्ने काम पनि अघि बढेको छ ।
पर्यटन बर्षलाई लक्षित गरी नगरपालिकाले खोलखोलेदेखि गोरखा बसपार्कसम्म दुवैतर्फ व्यवस्थित फुटपाथ बनाउने छ । आधुनिक खालको रंगीन फुटपाथ निर्माण हुनेछ । सडक पनि चौडा बढाइनेछ । खोलखोलेमा करिव एकसय वटा गाडी पार्किङ गर्न मिल्ने बसपार्क निर्माणको कामसमेत भइरहेको छ । पर्यटन बर्षलाई मध्यनजर गरी नगरपालिकाले पर्यटन गुरुयोजना तयार गर्नेछ ।
गर्ने कामहरु धेरै छन् । ती सबै धेरै रचनात्मक र गोरखाको लाइफलाइन बदल्ने खालकै कार्यक्रम बनेका छन् । ती कार्यक्रमहरु आरम्भ गर्न ढिलाइ भइसकेको छ । पर्यटनसम्बन्धी कार्यक्रम तत्काल सुरुवात गरौँ ।

प्रतिक्रिया दिनुहोस्