
काम गर्नेलाई प्रोत्साहन, नगर्नेलाई कारबाही गरौँ
पालुङ्टार नगरपालिका ९ ढुंगेटारीमा २५ मिटर लामो मोटरेबल पुल बन्दैछ । गत बैशाखबाट निर्माण सुरु भएको सो पुलको ६० प्रतिशतभन्दा काम सम्पन्न भएको छ ।
२५ मिटर लामो, आठ मिटर चौडा भएको पुल दुई करोड ७५ लाखमा बन्दै गरेको हो । परिमाण हेर्दा खबर उति ठूलो होइन । तर यसको प्रकृति हेर्दा ज्यादै महत्वपूर्ण छ ।
१८ महिनामा निर्माण सम्पन्न गर्ने भनेर सम्झौता गरिएको सो योजना आठ महिनामा निर्माण सम्पन्न हुदैछ । सात, आठ महिनामा पनि असार, साउन, भदौ, असोज महिनामा मौसमको प्रतिकूलताका कारण कत्ति पनि काम भएन । वैशाख, जेठ र कात्तिक जम्मा तीन महिनामा ६० प्रतिशत काम सम्पन्न हुनु अत्यन्त सुखद पक्ष हो । बाँकी ४० प्रतिशत काम भनेको पनि स्ल्याब ढलान गर्ने हो । सो ढलानका लागि पनि सर्टिङको काम पनि एक, दुई दिनमा सम्पन्न हुने गरी धमाधम भइरहेको छ । अबको एक महिनाभित्र ढलान सम्पन्न भयो भने निर्धारित भन्दा आधै समय अघि सम्पन्न भएको हुनेछ ।
देशमा जिम्मा लिएको काम अलपत्र पारेको घटना धेरै छन् । पालुङ्टार ९ सेरामै १८ महिनाभित्र सम्पन्न गर्ने सम्झौता गरेको कल्भर्टको काम अलपत्र पारेर काम छाडेको घटना पनि ताजै छ । बुटारको पुल पनि ठेकेदारले अलपत्र पारेपछि ठेक्का खारेज भएको छ । जिल्लामा अन्य विभिन्न ठाउँमा अढाइबर्षभित्र निर्माण सम्पन्न गर्ने भनेर पाँच, १० बर्षसम्म निर्माण सम्पन्न नगरेको उदाहरणहरु छन् ।
यो बीचमा श्रीगणेश अमृत जेभी निर्माण कम्पन्नले १८ महिनामा सक्नुपर्ने काम आठ महिनाभित्रै सम्पन्न गर्नु अति खुशीको कुरा हो । यस्ता निर्माण व्यवसायीलाई प्रोत्साहनको आवश्यकता पर्दछ । काम नगर्ने ठेकेदारलाई कारबाही र अपेक्षा गरेभन्दा चित्तबुझ्दो काम गर्ने ठेकेदारलाई प्रोत्साहन गर्नु महानता हो ।