
स्थानीय मनास्लु स्याउलाई प्रोत्साहन गरौँ
स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, आयातलाई कम गर्ने स्थानीय सरकारको प्राथमिकतामा छ । उत्पादनलाई जोड दिने प्रदेश र केन्द्र सरकारको पनि लक्ष्य हो । त्यसैले सरकारले विभिन्न ठाउँलाई कुनै विशेष फलफूल वा उत्पादनको पकेट, ब्लक र जोन घोषणा गरेर प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको छ ।
अहिले गोरखा बजारमा गोरखाकै स्याउ आइपुगेको छ । मोटरबाटो नपुगेको मनास्लु क्षेत्रको ल्होबाट खच्चडमा बोकाएर बल्लतल्ल गोरखा बजारमा मनास्लु स्याउ आइपुगेको हो ।
यसअघि सिजनको बजारमा जुम्लाको, मुस्ताङको स्याउ आउँथ्यो । त्यो पनि केही समयपछि सिद्धिन्थ्यो । अनि कास्मीरको, अमेरिकाको, चाइनाको स्याउले भरिन्थ्यो । अब भने गोरखाकै ताजा स्याउ बजारमा आएको छ ।
पूरै रस नचढी, पूरै रंग नचढी टिपेर बजारमा पु¥याउने स्याउ गुणस्तरको हुदैन । दाँत कुँडिने खालको अमिलो स्याउले बजार भरिन्थ्यो । व्यापारिक दृष्टिले बजारमा ल्याइएका यस्ता स्याउको सट्टा अब गोरखाको बजारमा पूरै रस र रंग चढिसकेपछि आएको स्याउ छ । मूल्यमा केही बढी हुनसक्छ । तर उच्च गुणस्तरको हुनाले मूल्य बढि तिरे पनि पछुतो लाग्नेछैन ।
बाहिरबाट आएका स्याउ आकर्षक देखाउन, चिल्लो बनाउन, कस्मेटिक बनाउन विभिन्न पदार्थको प्रयोग भएको हुनसक्छ । तर मनास्लु स्याउ पूर्ण अर्गानिक छ । प्रयोगशाला परीक्षण गरी अर्गानिक घोषणा गरिएको मनास्लु स्याउले यदि यो बेला राम्रो बजार पायो भने स्याउ उत्पादक किसान छिरिङ लामाले वैशाखसम्म बजार थेग्ने गरी स्याउ पठाउने बताउँदै आएका छन् । तसर्थ मनास्लु स्याउलाई प्रवद्र्धन गरौँ ।
यी स्याउ उत्पादक किसानलाई हौसला मिल्यो भने उनीहरुले व्यवसाय बढाउने गर्छन् । गाउँका अरु युवाहरुले पनि देखासिकी गर्नेछन् । जसले गर्दा स्थानीयबासी स्वाबलम्बी हुने विश्वास लिन सकिन्छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने सबैको दायित्व हो ।