| शनिबार, माघ ५, २०८१

एनपिआई गोरखा अस्पतालले चाँडो सेवा सञ्चालन गरोस्

सरल रेखामा बुझ्दा निजी क्षेत्रको विकास निजी मामला हो, तर पुँजीवादी व्यवस्थामा निजी क्षेत्रको विकास देशको विकाससंग सम्बन्धित हुन्छ । निजी उद्योग, व्यापार, व्यवसाय फस्टाउँदा व्यक्तिको विकास हुने हो भन्ने लाग्नु स्वभाविकै हो । तर निजी उद्योग, व्यापार, व्यवसायमा देशको आर्थिक कारोबार चलायनमान हुन्छ ।

त्यहाँ सयौं, हजारौँ रोजगार बन्छन्, त्यसमा उनीहरुका परिवार आश्रित हुन्छन् । उत्पादन तथा सेवा बढ्छ, आयात घट्छ, अबस्था हेरी निर्यात बढ्छ । राज्यको पुँजी बाहिरिने क्रममा गिरावट आउँछ । रोजगारी सिर्जना हुन्छ इत्यादि । होटल गोरखा गार्डेन निजी व्यवसाय हो, तर यसको स्थापना, सञ्चालनले जिल्लामा ठूला कार्यक्रम हुन थालेका छन् ।

ठप्पप्राय रहेको विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ । बाहिर जिल्लाका स्तरीय होटलहरुमा कार्यक्रम आयोजना गर्न जाने क्रम रोकिएको छ । बरु अरु जिल्लाहरुबाट पनि यहाँ कार्यक्रम आयोजना गर्न आएका छन् । यसले होटलको श्रीवृद्धि मात्र भएको छैन, गोरखाको प्रचारप्रसार पनि भएको छ । उनीहरुका कारण गोरखा बजारको चहलपहल पनि बढेको छ ।

त्यसको सम्बन्ध प्रत्यक्ष, परोक्ष रुपमा अन्यत्र पनि परेको छ । तसर्थ निजी क्षेत्रको विकासले सबै पक्षसंग सरोकार राख्दछ ।
गोरखामा हालै निर्माण सम्पन्न भएको एनपिआई गोरखा अस्पताल गोरखाको गौरव हो, गोरखाको सम्पदा हो । गुणस्तरीय सेवा दिन सुरु गरेपछि गोरखा अस्पतालमा बिरामीको निकै चाप बढेको छ ।

यस्तै स्तरीय अर्को अस्पताल भए प्रतिस्पर्धात्मक रुपमा बिरामीले गुणस्तरीय सेवा पाउनेछन् । त्यसैले एनपिआई गोरखा अस्पताल चाँडै सञ्चालनमा आओस् भन्ने चाहना हो । यो अस्पताल सञ्चालनमा आए गोरखाका बिरामीले गुणस्तरीय सेवा जिल्लामा नै पाउँछन् । गोरखाका योग्य जनशक्तिले रोजगारी पाउँछन् ।

गोरखाबाट रिफर भएर बाहिर जाने बिरामीले जिल्लामै सेवा पाउँछन् । त्यति मात्र होइन, एनपिआई चितवनमा सेवा लिइरहेको बिरामीले गोरखाबाट पनि सेवा लिन पाउँछन् । एनपिआई चितवन यसको समन्वयबाट प्रत्यक्ष, परोक्ष रुपमा गोरखामा धेरथोर प्रभाव राख्दछ ।

प्रतिक्रिया दिनुहोस्