| शनिबार, माघ ५, २०८१

छिमेकी आँबुखैरेनीसंग धेरै सिक्नुछ

बहर बाच्छा दाउँदा छिटो हिँड्ने गोरुसंग नारेर दाइयो भने त्यो बहर पनि छिटो हिँडने हुन्छ भन्छन् । नेपालीमा अर्को पनि उखान छ, संगतगुनाको वुद्धि बिउगुनाको फल । गोरखाको सीमानामा तनहूँको आँबुखैरेनी गाउँपालिका पर्दछ । गोरखाका पालिकाहरुको तुलनामा सो गाउँपालिकाको रफ्तार छिटो छ, । अब ढिलो हिँड्नेतिर फर्केर पछि हट्ने होइन, छिटो हिँड्नेको संगतले छिटो हिँड्ने बन्नुपर्दछ ।

आँबुखैरेनी गाउँपालिकाले गतबर्ष पनि सतप्रतिशत प्रगति हात पारेको थियो, जबकि गोरखाका पालिकाहरुले ६०, ७०, ८० प्रतिशतको हाराहारीमा प्रगति गरेका थिए । त्यसमा पनि चालु खर्चको प्रगतिले त्यति प्रतिशत पु¥याएको हो । पुँजिगत(कार्यक्रमतर्फ)को प्रगति अझै धेरै गुना कम थियो । छिमेकी आँबुखैरेनी गाउँपालिकाले कसरी योजना तर्जुमा गर्छ ? कसरी काम गर्छ र सबैको हाईहाई बन्छ ? त्यसको अबलोकन गर्नु गोरखाका पालिकाहरुको आवश्यकता हो ।

विकास निर्माणका योजना मात्र होइन, आँबुखैरेनी गाउँपालिकाले धेरै लोकप्रिय कार्यक्रमहरु अघि सारेको हुन्छ । त्यति मात्र होइन, ठोस परिस्थितिको ठोस निर्णय गरी काम गर्दछ । जस्तो, दशैंमा घर फर्कने विद्यार्थीहरुलाई काठमाडौँबाट निशुल्क बस सेवा दिने, सरकारी विद्यालय भर्ना गर्ने छात्राहरुलाई वैँक खाता खोलिदिने इत्यादि निर्णय सबैको प्रसंसा पाएको निर्णय हो ।

अहिले चालु आर्थिक बर्षको चार महिना भएको छ । यो बेलासम्म गोरखाका कतिपय पालिकाहरुमा एक पटक पनि कार्यपालिकाको बैठक हुन सकेको छैन, तर आँबुखैरेनी गाउँपालिकाले ५१ वटा योजनाको उपभोक्ता समिति गठन गरेको छ । ३५ भन्दा धेरै योजनाहरु सम्झौता गरिसकेको छ ।

दुई वटा योजना त सम्पन्न गरेर पनि अन्तिम भुक्तानी दिइसकेको छ । यसबर्ष पनि सतप्रतिशत प्रगति हात पार्ने लक्ष्यका साथ अघि बढिरहेको छ । यस्ता नमूनायोग्य काम छिमेकी पालिकाबाट सिकौँ ।

प्रतिक्रिया दिनुहोस्