६२ प्रतिशत मत खस्नु सुखद
मुलुकमा कुनै तहको पनि निर्वाचन नहुने हो भने के होला ? राजाको छोरो राजा, प्रधानमन्त्रीको छोरो प्रधानमन्त्री हुने प्रथाले मुलुक चल्ला । अथवा टिके प्रथाले मुलुक चल्ला । निर्वाचन भनेको लोकतन्त्रको गहना हो, जसले लोकतान्त्रिक शासन पद्धतिको सौन्दर्य बढाउँछ । पहिलो हुने निर्वाचित हुने पद्धति लोकतन्त्रको सौन्दर्य हो ।
चुनावमार्फत जनताबाट अनुमोदित भएर नेतृत्व तहमा पुग्नुपर्ने हुँदा राजनीतिक दलका नेताहरु जनतामुखी हुन्छन् । जनचाहनालाई, जनअपेक्षालाई केन्द्रमा राखेर राजनीति गर्न उन्मुख हुन्छन् । जनताबाट चुनिनुपर्ने हुँदा जनता रिझाउन लाग्छन् । भलै, गतिलो योजना कार्यक्रमले भरिएको घोषणापत्र ल्याउनतर्फ भन्दा सस्तो लोकप्रियता कमाउन, जनतालाई विभिन्न प्रलोभनमा पारेर रिझाउन उद्धत हुन्छन् ।
जनप्रतिनिधि बन्नका लागि मात्र होइन, हरेक क्षेत्रको नेतृत्व तहमा पुग्न निर्वाचन प्रणाली अपनाइन्छ । त्यसैले निर्वाचन त्यस्तो लोकप्रिय पद्धति हो, जसले सबको माझबाट नेतृत्व चयन गर्छ । तर यदाकदा अबका चुनावमा मतदाता मतदान गर्न जाँदैनन् भन्ने चर्चा सुनिन्छ । कुन नेतालाई भोट दिएर जिताएर के नै पो पाइन्छ र , आफै बन्ने त हुन्, देश र जनताले के पाउँछन् र ? भन्ने जस्ता आरोप लगाई अबका मतदानमा मतदाता सहभागी हुदैनन् भन्ने कटु विश्लेषण गर्ने गरिन्छ ।
तर त्यसो हुँदैन । जब देशमा आम निर्वाचनको घोषणा हुन्छ, तब नेता मात्र होइन, जनता, मतदातामा पनि चुनाबको रौनक बढ्छ । त्यसपछि उनीहरु मतदानको दिनको ब्यग्र प्रतिक्षामा हुन्छन् । प्रतिस्पर्धीभन्दा एक भोट भने पनि बढि ल्याएर जिताउनु पर्छ भन्ने होडबाजी चल्छ । त्यसपछि भोट हाल्न नगई सुखै छैन । यसको पछिल्लो उदाहरण गत आइतबारको निर्वाचन हो, जुन निर्वाचनमा ६१.७१ प्रतिशत मत खस्यो । यो भनेको सुखद पक्ष हो ।