
बजेट परेकोमा जस लिनेको लाजमर्दो होड
…फूल झर्दा कोही हुन्नन्, तर फूल फुलेपछि
सबै भन्छन्, फुलाउनमा मेरो पनि हात थियो ।
ललिजन रावलको मुक्तकको अंश हो यो । केहीबर्ष अघि पालुङ्टार एयरपोर्टको रनवेका लागि नियमित कार्यक्रम अनुसार बजेट पर्दा ‘मेरो नेताले, मेरो प्राणपरमेश्वरले गर्दा’ भन्नेको उस्तै होडबाजी थियो । अब अर्कोबर्षदेखि यहाँबाट त प्लेन उँडिहाल्छ भनेर सामाजिक सञ्जाल रङ्गिएको थियो । त्यतिबेला पनि … देख्नेलाई लाज भएकै हो ।
अहिले बेनिघाट, आरुघाट, लार्के सडक स्तरोन्नतिका लागि ६० करोड रुपैयाँ थप भएपछि ‘मेरो नेताले गर्दा, हाम्रो परमेश्वरले गर्दा’ भनेर उस्तै हानाथाप गर्ने भक्तमानहरुको लर्को छ । गतबर्ष गोरखामा खासै बजेट परेन । त्यो बेला मेरो नेताले, मेरो प्रभु परमेश्वरले बजेट पार्न सकेनन् भनेर चुँक्क कसैले बोलेनन् । तर अरु जिल्लाका बासिन्दाले तत्कालीन प्रधानमन्त्रीले चुनाब जितेको जिल्ला भएबापत गोरखाले धेरै बजेट पाएको भन्ने बित्था आरोप मात्रै लगाए, व्यर्थ गाली मात्र खानुप¥यो । बजेट पनि कम पर्नु, आरोप पनि खानु यो पीडा थियो गतबर्ष ।
चालुबर्ष पनि बजेट भाषण गर्दा गोरखामा खासै धेरै कार्यक्रम तथा बजेट परेको होइन, जति रामशरण बस्नेत गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भएको बर्ष बजेट परेको थियो । साक्षी आम गोरखाबासी छन् । चालु आर्थिक बर्षको पाँच महिना बितेपछि गोरखाको एक सडकका लागि थप बजेट तथा कार्यक्रम प्राप्त भएको छ ।
गोरखा सडक योजना कार्यालयले कार्यान्वयन गर्नेगरी बेनिघाट, आरुघाट लार्के सडक स्तरोन्नतिका लागि ६० करोड रुपैयाँ थप प्राप्त भएको छ । सो बजेटले सोतीदेखि हावाडाँडासम्मको १० किलोमिटर सडक स्तरोन्नति हुने भएको छ । बजेट कसरी प¥यो अत्तो न पत्तो, मेरो नेताले गर्दा भन्दै सामाजिक सञ्जाल भरेको देख्दा ‘देख्नेलाई लाज’ जस्तो भएको छ । यो प्रवृत्ति अलिक घटिया प्रवृत्ति नै हो । यस्ता आचरण त्यागौँ, सभ्य बन्न सिकौँ ।