| आइतवार, माघ २७, २०८१

गोरु जुधाइको साँटो पशुमैत्री कार्यक्रम गरौँ

नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैंमा पशुवली नगरौँ भन्ने आवाज उठिरहेको छ । मांशहारी भन्दा साकाहारी बनौँ भन्ने अभियान पनि चलिरहेको छ । यही सन्दर्भमा माघेसक्रान्तिका बेला गोरु जुधाएर मनोरञ्जन लिने परम्परामा केही सुधार गर्नुपर्छ कि भन्ने आवाज पनि उठ्न थालेको छ ।

माघे संक्रान्तिको अवसरमा मनाइने गोरु जुधाइ परम्परा पछिल्लो समयमा विवादित पनि बन्दै गएको छ । धेरैले मौलिक संस्कृतिको रूपमा लिए पनि कतिपयले पशु हिंसाको पर्यायवाचीको रूपमा व्याख्या गर्ने गर्छन् । फरक मत केही हदसम्म राम्रै छ । गोरु जुधाइमा गोरुहरूलाई एकअर्कासँग जुधाएर मानिसहरू मनोरञ्जन लिन्छन् ।

यस क्रममा गोरुहरू गम्भीर रूपमा घाइते हुने, अङ्गभङ्ग हुने र कहिलेकाहीँ मृत्युसमेत हुने गरेको पाइन्छ । यो स्पष्ट रूपमा पशु कल्याणको सिद्धान्तको बिपरीत छ । कुनै पनि जीवलाई दुःख दिने र उसको जीवनलाई खतरामा पार्ने कार्य मानवीयता विपरीत छ । केही व्यक्तिहरू गोरु जुधाइलाई हाम्रो मौलिक संस्कृति भन्दै यसको पक्षमा वकालत गर्छन् ।

तर, हामीले हाम्रा पुर्खाहरुले गरेका सबै कुराहरूलाई अन्धाधुन्ध संस्कृतिका रुपमा अनुसरण गर्नुपर्छ भन्ने छैन । समयसँगै समाज परिवर्तन हुन्छ र हाम्रा मूल्यमान्यताहरू पनि परिमार्जित हुँदैछन्, सुसंस्कृत हुदैछन् । पशु कल्याण जस्तो महल्वपूर्ण विषयमा हामीले आफ्ना पुराना मान्यताहरूलाई पुनर्विचार गर्नुपर्छ ।

गोरु जुधाइको विकल्पमा हामी अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गर्न सक्छौँ । जस्तै, सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, आदि । यसले हामीलाई मनोरञ्जनका साथै सामाजिक सद्भाव कायम गर्न पनि मद्दत गर्नेछ । नेपालको कानूनले पशु हिंसालाई दण्डनीय अपराध मानेको छ । त्यसैले गोरु जुधाइ जस्तो पशु हिंसाको विकल्पमा अन्य मनोञ्जनात्मक कार्यक्रम गरेर माघेसक्रान्ति मनाऔँ ।

गोरु जुधाइ परम्परा हाम्रो संस्कृतिमा गहिरोसँग गाँसिएको भए पनि यो पशु कल्याणको सिद्धान्तको पक्षमा छैन । बरु पशुमैत्री कार्यक्रम गरी मानवीय दायित्व पूरा गरौँ । पशुलाई पनि मनोरञ्जन दिउँ, मानवले पनि मनोरञ्जन गरौँ ।

प्रतिक्रिया दिनुहोस्