| आइतवार, माघ २७, २०८१

बुक फ्री फ्राइडे एक उदाहरणीय कार्यक्रम

गोरखा नगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरुमध्य बुक फ्री फ्राइडे एक अत्यन्त रचनात्मक कार्यक्रम हो । किताबी ज्ञान जबर्जस्ती घुसाउने अहिलेको शिक्षा पद्धति परिवर्तन गर्न जरुरी छ भनेर माग भइरहेको अबस्थामा यही शिक्षा पद्धतिभित्र रहेर पनि अतिरिक्त समयमा बालबालिकालाई व्यवहारिक ज्ञानतर्फ उन्मुख गराउन यो कार्यक्रम अघि सारिएको छ ।

बुक फ्री फ्राइडे कार्यक्रमका लागि नगरपालिकाले यस बर्ष पाइलट प्रोजेक्टका रुपमा अघि सारेको छ । यदि यो प्रोजेक्ट प्रभावकारी बन्दै गयो भने यसमा फोकस गरी आउँदा बर्षहरुमा व्यापक बनाइने छ । बुक फ्री फ्राइडे कार्यक्रम अन्तर्गत के कार्यक्रम लागु गर्ने भनी पालिकाको शिक्षा शाखाले माध्यमिक तहका विद्यालयहरुसंग प्रस्ताव माग गरिएको थियो ।

कतिपय विद्याललये प्रस्ताव पेश गरेर कार्यान्वयनको चरणमा गइसकेका छन् । कतिपय पालिकाले भने अहिलेसम्म प्रस्ताव पनि पेश गरेका छैनन् भने कतिपय विद्यालयले प्रस्ताव पेश गरी कार्यक्रम स्वीकृत गराएर बजेट ल्याएर कार्यान्वयन गरिसकेका छन् ।
नारेश्वरस्थित राष्ट्रिय माविले च्याउखेती र आलुखेती गर्ने प्रस्ताव पेश गरिसकेर, च्याउखेती र आलु खेतीको कार्यक्रम पारेको छ । च्याउ त उत्पादन गरेर पनि बेचबिखन गर्न थालिसकेको छ ।

गोरखा नगरपालिकाका हरेक सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागु भएका छन् । ती विद्यालयहरुमा स्थानीय उत्पादनको खाजा बनाएर खुवाउने नगरपालिकाको लक्ष्य छ । यसरी बुक फ्री फ्राइडे कार्यक्रम अन्तर्गत विभिन्न खालका तरकारी उत्पादन गरेर विद्यालयहरुमा उपलब्ध गराउँदा दोहोरो लाभ हुने पालिकाको अपेक्षा छ । विद्यार्थीको उत्पादनले स्थानीयस्तरमै बजार पाउँछ र आम विद्यार्थीहरुले स्थानीय स्वस्थ उत्पादन उपभोग गर्न पाउँछन् ।

यी दुवैका लागि बुक फ्री फ्राइडे लाभदायी हुनेछ । त्यति मात्र होइन, कितावमुखी मात्र नभै बालबालिका व्यवहारिक काममा पोख्त हुन्छन् भन्ने पालिकाको अपेक्षा छ । यो गोरखा नगरपालिकाको नमूना कार्यक्रम हो, जसलाई अरु पालिकाले पनि अनुशरण गर्न वाञ्छनीय छ ।

प्रतिक्रिया दिनुहोस्