| सोमवार, भदौ २४, २०८१

११ र १२ कक्षा पढाउन अब छुट्टै लाइसेन्स चाहिने

काठमाडौं, वैशाख १४ : कक्षा ११ र १२ पढाउन अब शिक्षकलाई छुट्टै लाइसेन्स चाहिने भएको छ। शिक्षा नियमावलीले कक्षा ९ देखि १२ लाई माध्यामिक तहमा ल्याए पनि मावि तहको लाइसेन्स हुने शिक्षकले अब ११ र १२ कक्षा पढाउन नपाउने आयोगले जनाएको छ।

‘स्नातक तह पास गरेका शिक्षकले ११ र १२ पढाउन पाउँदैनन्’, आयोगका प्रवक्ता दामोदर आचार्यले भने, ‘११ र १२ कक्षा पढाउने शिक्षकले छुट्टै लाइसेन्स लिनुपर्छ।’ सम्बन्धित विषयमा स्नातकोत्तर पास गरेको शिक्षकले मात्रै ११ र १२ कक्षा पढाउन पाउने उनले बताए।

स्नातकोत्तर तह पास गरी यस अघिदेखि नै प्लस टु पढाएका शिक्षकलाई नै ११ र १२ कक्षा पढाउन आयोगले अस्थायी लाइसेन्स दिएको उनले बताए।

‘कुनै परीक्षा लिएर होइन, कार्यरत रहेकै अधारमा ११ र १२ पढाउने अनुमति पत्र दिने गरेका छौं,’ प्रवक्ता आचार्यले भने, ‘स्नातकोत्तर पास गरेका शिक्षकले मात्रै अनुमति पत्र लिन पाउँछन्।’

११ र १२ पढाउने अनुमति पत्र जिल्लास्थित शिक्षा हेर्ने कार्यालयबाट वितरण गरिएको छ।

स्नातक तह मात्रै पास गरेका तर माध्यिमक तह ९ तथा १० कक्षा पढाउँदै आएका शिक्षकले ११ र १२ मा पनि पढाउन पाउनुपर्ने माग गरेपछि आयोगले ११ र १२ पढाउन छुट्टै लाइसेन्स लिनुपर्ने नियम बनाएको हो।

प्लस टु खारेज गर्दै सरकारले ११ र १२ कक्षालाई पनि माध्यामिक तहमा ल्याइसकेको छ। गत वर्षदेखि नै ११ र १२ पढाउन अनिवार्य लाइसेन्स चाहिने व्यवस्था गरिएको थियो।

११ र १२ कक्षा पढाउने शिक्षकको संख्या देशभर गरी २० हजार हाराहारीमा छ। प्लस टु का लागि भन्दै जम्मा २ हजार स्थायी दरबन्दी कायम गरिएको थियो। छ/सात हजार हाराहारीमा राहत शिक्षकले अहिले पनि कार्यरत छन्।

११ र १२ पढाउने शिक्षकलाई दिएको अनुमति पत्रमा मावि तहकै अनुमति पत्र लेखिए पनि स्नातकोत्तर तह पास नगरेकोले ११ र १२ पढाउन नपाउने आयोगले जनाएको छ।

यस्तै, आयोगले चैत २३ मा स्थगित भएको शिक्षक स्थायी परीक्षा छिट्टै गर्ने तयारी गरिरहेको जनाएको छ। विद्यार्थी र शिक्षकको अनशनपछि आयोगले परीक्षा स्थगित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्