| मङ्लबार, बैशाख ४, २०८१

सुस्त पुनर्निर्माणको असर विद्यार्थी भर्नामा, आधामात्रै विद्यालय बने

काठमाडौं । विद्यालय पुनर्निर्माणको सुस्त गतिका कारण यो बर्खा पनि विद्यार्थीले टहरामै पढ्नुपर्ने देखिएको छ । यसको असर विद्यार्थी भर्ना र टिकाउ दरमा समेत परेको छ ।

प्रदर्शनीमार्गस्थित पद्मोदय माविकोे २६ कोठे भवन भूकम्पले बस्नै नमिल्ने गरी चर्केपछि स–साना ५ वटा टहरामा विद्यार्थी पढाउँदै आएको छ । पद्मोदयकी प्रधानाध्यापक मीना कोइरालाले विद्यालय भवनको निर्माण ढिलाइले गर्दा यो वर्ष पनि गर्मी, हावाहुरी र वर्षाका कारण बच्चाहरुले दुःख पाउने अवस्था रहेको बताइन् । “टहराहरु जस्ताले छाएको हुँदा यस वर्ष गर्मीले समस्या झन् विकराल हुने देखिएको छ । पानी पर्दा र हावाहुरी चल्दा बच्चाहरुलाई जोगाउनै समस्या हुने गरेको छ ।”

प्रअ कोइरालाले पनि तीन वर्षदेखि अभिभावक र विद्यार्थीलाई आश्वासनमै टिकाइरहेको बताइन् । “सामुदायिकमा यसै त विद्यार्थीको संख्या खस्कँदो छ, त्यसमाथि टहरामा पढाउने भनेपछि कतिपय अभिभावक बच्चा लिएर भर्ना गर्न आए पनि फर्केर जान्छन्,” उनले भनिन् । कोइरालाले हाल एडीबीको सहयोगमा नेपाल सरकारले ७ करोडको लागतमा २४ कोठे भवन बनाइरहेको जानकारी दिइन् । उनका अनुसार भवनको तेस्रो तल्लाको ढलानसमेत भइसकेको छ र यसै वर्ष मंसिरमा हस्तान्तरण गर्ने सम्झौता भएको छ ।

उता, दरबार हाइस्कुलका प्रधानाध्यापक हेमचन्द्र महतोले पनि भवन निर्माणको ढिलाइका कारण अभिभावकहरुले बच्चालाई भर्ना गर्नै नमानेको बताए । भवन निर्माण चाँडै हुने आश्वासन दिँदै भर्ना गर्ने गरेको उनको भनाइ छ । “तीन वर्षदेखि विद्यार्थी संख्या १ सय ८० भन्दा बढाउन सकिएको छैन । अझ बालबालिका टिकाउन झन् मुश्किल छ । १८० विद्यार्थीमध्ये पनि ०७४ को वार्षिक परीक्षामा विद्यार्थी संख्या घटेर १५० मा झरेको छ,” उनले भने, “नयाँ भर्ना अभियान अन्तर्गत ३५ जना विद्यार्थीमात्र भर्ना हुन आएका छन् ।” भूकम्पपछि भवन अभावमा विद्यार्थी भर्ना दर एकदमै सुस्त रहेको बताउँदै उनले एउटा कक्षामा १० जना बालबालिका भए सन्तुष्ट हुनुपर्ने अवस्था रहेको बताए ।

भूकम्पले दरबार हाइस्कुलको भवन बस्नै नमिल्ने गरी भत्केपछि ११ वटा टहरा निर्माण गरी विद्यार्थी पढाइँदै आइएको छ । विद्यालयको पुनर्निर्माण यसै वर्ष थालिने प्रधानाध्यापक महतोले दावी गरे पनि हालसम्म निर्माणको काम भने सुरु भइसकेको छैन ।

भूकम्पबाट देशभर ७ हजार ५५३ सार्वजनिक विद्यालयमा क्षति पुगेको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विद्यालय निर्माणलाई विशेष प्राथमिकता दिएको बताएको छ । तर, हालसम्म विद्यालय निर्माणको काम ५१ प्रतिशतमात्रै सकिएको तथ्यांक छ ।

प्राधिकरणको तथ्यांकअनुसार हालसम्म विभिन्न स्थानका ३५ सय विद्यालय भवनको निर्माण सम्पन्न भएको छ भने १ हजार ६९२ जति निर्माणाधीन अवस्थामा छन् । कतिपय विद्यालयमा निर्माणको काम नै सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्