| शनिबार, कार्तिक १७, २०८१

असल छिमेकीले सिरान्चोकमा बनायो चार विद्यालय

असल छिमेकीले सिरान्चोकमा बनायो चार विद्यालय

भूकम्प पछि राहतसँगै पुर्नस्थापना र पुर्नउत्थान कार्यक्रम लिएर गोरखा भित्रिएको असल छिमेकी पोखराले सिरान्चोक गाउँपालिकाको ४ वटा विद्यालय भवन निर्माण गरेको छ । भूकम्पले ध्वस्त चार वटा विद्यालय भवन निर्माण सम्पन्न गरेको हो । सिरान्चोक गाउँपालिकाको चन्द्रोदय मावि, जनजाग्रीती प्रावि, अर्कुल प्रावि र जनकल्याण मावि असल छिमेकीले पुननिर्माण गरिदिएको हो ।
‘भूकम्पले विद्यालय भत्काइहाल्यो’ जनकल्याण माविका प्रधानाध्यापक कमलप्रसाद ढकालले भने ‘तत्कालै विद्यालय भवन बनाउन केही उपाए थिएन ।
अस्थायी भवन बनाएर पठन पाठन गराउन थालियो । घाम लागेपनि, पानी आएपनि विद्यार्थी टिनको टहरोमा आत्तिए । केही समय पछि असलछिमेकी शिक्षा कार्यालयबाट विद्यालय बनाउने भनेर आएपछि हामीले बल्ल लामो श्वास फेरेका हौँ ।’ उनले दुई वर्षको अबधीमा विद्यालय भवन निर्माण सकेर आफुहरुलाई हस्तान्तरण गरेकोमा असल छिमेकी पोखरालाई धन्यावाद ज्ञापन गरे । जनकल्याण माविको भवन भवन सोमबार प्रदेश ४ का भौतिक पुर्वाधार तथा विकास मन्त्री रामशरणले बस्नेतले उद्घाटन तथा हस्तान्तरण गरेका हुन् । अन्य विद्यालयका भवनहरु भने यस अघि नै हस्तान्तरण गरिसकिएको असलछिमेकी पोखराका कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिए । नवनिर्मित १६ कोठे विद्यालय भवन दुई करोड ५६ लाख रुपैँयामा निर्माण भएको हो । अन्य विद्यालयका भवनहरु दुई करोड ५० लाखको लगानीमा निर्माण सम्पन्न भएको श्रेष्ठले जानकारी दिए । ‘हामीले दुई वर्षको अबधीमा सबै विद्यालयको भवनहरु निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेका हौँ’ श्रेष्ठले भने ‘हामीले विद्यालय भवन मात्र हस्तान्तरण गरेका छैनौँ । आवश्यक फर्निचरहरु पनि सहयोग गरेका छौँ । विद्यालयमा लाइब्रेरीको पनि ब्यवस्था हामीले गरिदिएका छौँ ।’ मंगलबार जनकल्याण माविको भवन हस्तान्तरण कार्यक्रममा असल छिमेकी पोखराका दातृ संस्थाका प्रमुखहरु, मन्त्री बस्नेत, प्रदेश ४ का सांसद प्रकाशचन्द्र दवाडी, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, गाउँपालिकाका प्रमुख राजु गुरुङ, वडा अध्यक्ष सुरज ढकाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गोरखाका अध्यक्ष किशोरजंग थापा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
यसअघि राम्रो काम गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले असल छिमेकीलाई पुरस्कृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्