| सोमवार, भदौ २४, २०८१

आरुघाटका सबै सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई

शैक्षिक सत्र २०७५ बाट जिल्लाको आरुघाट गाउँपालिकाको सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुने भएको छ । विद्यार्थीहरु अंग्रेजी माध्यमकै कारण सामुदायिक विद्यालय छोडेर निजी बोर्डिङ स्कूलमा जान थालेपछि गाउँपालिकाले यस्तो तयारी गरेको गाउँपालिकाका प्रमुख पूर्ण बहादुर दाहालले जानकारी दिए ।
‘हाम्रो गाउँपालिका भित्र ४४ वटा विद्यालय छन् यि सबैमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु हुन्छ’ दाहालले भने ‘हामीले १ कक्षा देखि अंग्रेजी माध्यमको पढाई सुरु गर्न लागेका हौँ । यो वर्ष सबै विद्यालयका कक्षा १ देखि सुरु हुन्छ अर्काे वर्ष माथिल्लो तहमा पनि हुन्छ । जनशक्ति हुने विद्यालयहरुमा यसै वर्ष पनि माथिल्लो कक्षाहरुमा अंग्रेजी माध्यमबाट पढाई हुन्छ ।’ नेपाली र सामाजिक विषय बाहेकका सबै विषय अंग्रेजी माध्ययमबाट पढाई हुने दाहालको भनाई छ ।
सरकारी विद्यालयमा पढाउने, छोराछोरी निजिमा पढाउनेहरुका लागि अनिवार्य सरकारी विद्यालयमै पढाउनुपर्ने विषयमा छलफल सुरु भएको उनले बताए । ‘यसमा केन्द्र सरकारले सहयोग गर्नुपर्छ’ उनले भने ‘हामीले आफुलाई आफुले पढाएको विश्वास नलागेर बोर्डिङमा मास्टरले छोराछोरी पठाएको हेर्नु पटक्कै छैन । गाउँको विद्यालय दक्ष जनशक्ति उत्पादन गर्न सक्षम छन भन्ने देखाउनु छ ।’ आरुघाट गाउँपालिकाको धारापानी माध्यमिक विद्यालयमा भने यस अघि देखि नै अंग्रेजी माध्यममा पढाइ हुँदै आइरहेको छ । गाउँपालिकाले विद्यालय भर्ना अभियान, नजिका प्रकाशन मिति र कक्षा सञ्चालन मिति समेत सार्वजनिक गरेर काम अघि बढाएको उनले बताए । उनका अनुसार सबै तहको परिक्षाको नतिजा आगामी चैत २९ गते प्रकाशन गर्ने तयारी छ । त्यस्तै गाउँपालिका भित्रका सबै विद्यालयहरुमा बैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान र नौ गतेबाट कक्षा सञ्चालन हुनेछ । आरुघाट गाउँपालिकाले अन्य विभिन्न उदाहरणिय कामहरु पनि गरिसकेको छ । पैसा नभएरै घर बनाउन नसक्ने भुकम्प पिडितलाई घर बनाउन कोष स्थापना गरेर घर बनाउन प्रोत्साहन समेत गरेको दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्