| आइतवार, अशोज ११, २०७७

गोरखाको नाम्जुङमा यात्रु प्रतिक्षालय उद्घाटन

 

बस कुर्ने यात्रुको सुविधाका लागि नाम्जुङको बरचुलीमा बस प्रतिक्षालय निर्माण गरिएको छ । देश तथा विदेशमा छरिएर रहेका नाम्जुङबासीको संस्था नाम्जुङ सेवा समाजले सो बस प्रतिक्षालय निर्माण गरेको हो । नवनिर्मित प्रतिक्षालयको शनिबार एक समारोहका बीच शहीद लखन गाउँपालिकाका प्रमुख रमेश थापा मगरले उद्घाटन गरे ।

समाजले २३ लाख १५ हजार २२६ रुपैयाँको लागतमा सो प्रतिक्षालय भवन निर्माण गरेको जनाएको छ । गाउँपालिकाबाट प्राप्त नौ लाख ३४ हजार ४८०, वडा कार्यालयबाट प्राप्त दुईलाख रुपैयाँ, नाम्जुङ सेवा समाजले बिभिन्न व्यक्तिहरुबाट संकलन गरेको छ लाख पाँचहजार ३८३ र बाँकी पाँचलाख ७५ हजार ४०२ रुपैयाँको लागतमा प्रतिक्षालय निर्माण गरिएको समाजका अध्यक्ष शिव बञ्जराले जानकारी दिए ।

प्रतिक्षालय भवनमा दुई वटा तला छन् । बाटो मुनि पर्ने तल्लो तलामा टायल बिछ्याएको पानीसहितको व्यवस्थित महिला र पुरुष सौचालय निर्माण गरिएको छ । माथिल्लो तलामा प्रतिक्षालय र भाडामा पसल चलाउन दिने गरी सटर निर्माण गरिएको । सोही सटर भाडाबाट प्राप्त रकमबाट प्रतिक्षालय सरसफाइ गर्ने समाजका अध्यक्ष शिव वञ्जराले जानकारी दिए ।

सो कार्यक्रममा गाउँपालिकाका प्रमुख थापा मगर, वडा नं. ९का अध्यक्ष रामप्रसाद लामिछाने, समाजका सचिव रामबाबु रेग्मी, अध्यक्ष बञ्जरालगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

सो अवसरमा आयोजित कार्यक्रममा नेपाल टेलिभिजन कार्यक्रमका चर्चित कलाकारहरु राजु मास्टर र बल्छी धुर्बे, लोक दोहोरी कलाकारहरु प्रेम अर्याल, अनु क्षेत्री, अनिता पन्त, मोडल दिनेश थापालगायतले बिभिन्न कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष बञ्जराले नाम्जुङ सेवा समाजले शहीद लखन गाउँपालिकालाई एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गरेको, ब्लड क्यान्सर पीडित बालिकालाई उपचारार्थ आर्थिक सहयोग गरेको, ज्येष्ठ नागरिक सम्मान गरेको, बोनम्यारोको क्यान्सरबाट पिडितलाई उपचारार्थ आर्थिक सहयोग गरेको, क्यालेण्डर प्रकाशन र निशुल्क बितरण गरेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्